राष्ट्रियसभा बैठक: बालिका बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग
काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद पूजा चौधरीले बालिकाको हत्या घटनामा संलग्नलाई कारबाही गर्दै बालबालिका तथा महिलामाथिको हिंसा रोक्न र बालिकाको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो ।
सांसद रेणु चन्दले बालिका हराएको उजुरीप्रति गम्भीर नभएको भन्दै सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हत्या घटनाका दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसद विष्णुदेवी पुडासैनीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा सजाय दिन माग गर्नुभयो ।
सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा मृत्यु भएका पर्वतका नारायण सार्कीको शव तत्काल नेपाल ल्याउन तथा परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद रुक्मिणी कोइरालाले नयाँ बजेट र कार्यक्रमको प्रभाव जनताको दैनिकीमा देखिनुपर्ने बताउँदै कृषकले उचित मूल्य पाउने, महिलाको सुरक्षा हुने र युवालाई रोजगारीको व्यवस्था हुने गरी काम गर्न सुझाव दिनुभयो ।
यस्तै शून्य समयमा सांसदहरुले बाढी पहिरोबाट बिस्थापितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कृष्णबहादुर रोकायाले रोल्पा र बाजुरामा बाढी तथा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै विस्थापितको उद्धार, राहत तथा जोखिमयुक्त बस्तीको क्षति मूल्याङ्कन गरी राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद घनश्याम रिजालले दीपा नेपालीको सत्याग्रह तथा ‘कोठा खाली छ सरकार’ नारासहित भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समस्या समाधान गर्न सुझाव प्रस्तुत गर्नुभयो ।
सांसद पदमबहादुर परियारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा उहाँलाई सहिद घोषणा गर्न माग गर्नुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूको स्वकीय सचिवालयमा कर्मचारीको सङ्ख्या बढाइएकोप्रति असन्तुष्टि जनाउँदै कटौती गर्न माग गर्नुभयो । राष्ट्रियसभाको बैठक जारी छ ।रासस








प्रतिक्रिया राख्नुहोस्