‘बङ्गलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड आम्दानी’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण विद्युत् खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले वर्षायाममा विद्युत् निर्यात गर्नुपर्ने भएपनि सुख्खा याममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा नेपालले करिब १० अर्ब ५५ करोड रुपैयाँको विद्युत् आयात गरेको भन्दै विद्युत् निर्यात र स्वदेशी विद्युत् आपूर्तिलाई एकअर्काको विरोधाभासका रुपमा नभई उत्पादन, प्रसारण र वितरण प्रणालीका छुट्टा छुट्टै चुनौतीका रुपमा बुझ्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले औद्योगिक करिडोरहरुमा प्रसारण तथा वितरण पूर्वाधारका कारण ट्रिपिङ, भोल्टेजमा उतार चढाव तथा विद्युत् गुणस्तरसम्बन्धी समस्या रहेको गुनासो आएको भन्दै प्रसारण तथा वितरण पूर्वाधारको क्षमता, गुणस्तर र विश्वसनीयता पनि चुनौतीको विषय बनेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले देशका विभिन्न स्थानमा देखिएको भोल्टेजमा उतारचढाव, बारम्बार ट्रिपिङको समस्या तथा ट्रान्सफर्मरमा देखिने खराबीका विषय अध्ययन गर्न गठित उच्च स्तरीय समितिले तयार पारेको प्रतिवेदनमा उल्लेखित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि विद्युत् प्राधिकरणलाई पठाइसकेको समेत बताउनुभयो ।
मन्त्री श्रेष्ठले पुराना, जीर्ण तथा न्युन क्षमताका पूर्वाधारले विद्युतको माग धान्न नसक्दा कतिपय क्षेत्रमा बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या देखिएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग व्यवस्थापन, ट्रान्सफर्मर तथा फिडरको क्षमता वृद्धि, प्रणाली सुदृढीकरण र तत्काल मर्मत सम्भारलाई प्राथमिकतामा राखेर समस्या न्युनिकरणका लागि तीव्र गतिका काम गरिरहेको समेत मन्त्री श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्