तपाईँ सुन्दै हुनुहुन्छः

प्रादेशिक प्रसारण कार्यालय, धनकुटामा कार्यरत वरिष्ठ प्रशासकीय अधिकृत हजारीको बिदाई

धनकुटा । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय, धनकुटामा कार्यरत वरिष्ठ प्रशासकीय अधिकृत ब्रह्मलाल हजारीको बुधबार बिदाइ गरिएको छ।

५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानुभएका वरिष्ठ प्रशासकीय अधिकृत हजारीको एक कार्यक्रमबीच बिदाइ गरिएको हो। प्रादेशिक प्रसारण कार्यालयका कर्मचारी सहभागी कार्यक्रममा कार्यालय प्रमुख तिलविक्रम चेम्जोङसहित अन्य कर्मचारीले मायाको चिनो प्रदान गरेर वरिष्ठ प्रशासकीय अधिकृत हजारीको बिदाइ गर्नुभएको थियो । 

सो अवसरमा वरिष्ठ प्रशासकीय अधिकृत हजारीले रेडियो नेपालको प्रशासन फाँटमा लामो समय काम गर्दाका आफ्ना अनुभवहरू साट्दै रेडियो नेपालले आफूलाई इज्जत र प्रतिष्ठासँगै कुनै पनि काममा प्रतिबद्ध भएर काम गर्ने प्रेरणा दिएको बताउँदै आगामी दिनमा पनि रेडियो नेपाल आफ्नो स्मरणमा रहिरहने बताउनुभयो।

प्रादेशिक प्रसारण कार्यालय धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङले लामो समयसँगै सहकार्य गरेको एक अनुभवी सहकर्मीलाई बिदाइ गर्नुपर्दा दुःख लागे पनि अनिवार्य अवकाशलाई स्विकार्नुको विकल्प नरहेको उल्लेख गर्दै वरिष्ठ प्रशासकीय अधिकृत हजारीको अवकाशपछिको जीवन पनि कुनै न कुनै माध्यमबाट समाज रूपान्तरणको कार्यमा सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो।

वि।सं। २०४९ माघ १९ गते कार्यालय सहायकका रूपमा रेडियो नेपालमा नियुक्त भई केन्द्रीय कार्यालय सिंहदरबार, काठमाडौँ, पोखरा, विराटनगर हुँदै प्रादेशिक प्रसारण कार्यालय धनकुटामा दुई दशकभन्दा लामो समय काम गर्नुभएका वरिष्ठ प्रशासकीय अधिकृत हजारीले सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालमा ३३ वर्ष ६ महिना १३ दिन सेवा गर्नुभएको छ।

उहाँ २०८३ भदौ २ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button