तपाईँ सुन्दै हुनुहुन्छः

टप अफ द वर्ल्ड गल्फ क्लासिकको पाँचौँ संस्करण भदौ १५ गते हुने

कास्की । विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ गल्फ प्रतियोगिताको पाँचौँ संस्करण आगामी भदौ १५ गते आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।

आयोजकका अनुसार यस वर्षको प्रतियोगिता ‘टि फर क्लाइमेट’ विशेष नारासहित सञ्चालन गरिनेछ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारे विश्व समुदायलाई सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगितालाई फरक अवधारणासहित आयोजना गर्न लागिएको बताइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक इन्द्रधारा विष्टले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गएको भन्दै त्यसबारे अन्तर्राष्ट्रिय स्तरमा सचेतना फैलाउन गल्फ प्रतियोगितालाई माध्यम बनाइएको बताउनुभयो।

यसै संस्करणमा नेपालका उत्कृष्ट पाँच व्यावसायिक गल्फरबीच ‘नेपाल मास्टर’ उपाधिका लागि विशेष प्रतिस्पर्धा पनि गराइने भएको छ। प्रतियोगितामा प्रथम हुने खेलाडीले ७५ हजार रुपैयाँ नगदसहित ‘मास्टर कोट’ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रोदेखि पाँचौँ स्थानसम्मका खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

एमेच्योरतर्फ १० जना महिला र ४० जना पुरुष गरी कुल ५० जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ।

प्रतियोगिताको अर्को प्रमुख लक्ष्य मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराउनु रहेको छ। आवश्यक प्रारम्भिक प्रमाण तथा आधारहरू तयार भइसकेको र गिनिज बुकको टोलीसँग नियमित समन्वय भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ तथा सिनियर विजेता विधामा ट्रफी प्रदान गरिनेछ। विगतका संस्करणझैँ यसपटक पनि ‘होल इन वन’ गर्ने खेलाडीलाई रैथाने घोडा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

मुस्ताङ गल्फबाट प्रदान गरिने ट्रफीहरू नेपालकै पाटनमा उत्पादित सामग्री प्रयोग गरेर तयार गरिएको आयोजकले जनाएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button