तपाईँ सुन्दै हुनुहुन्छः

तामा खानी उत्खननको सवाल स्थानीयको मागमै सीमित

मुगु । ​मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फुमा रहेको प्राचीन तामा खानी वर्षौंदेखि खानीमै सीमित बनेको छ। तामा खानीको सम्भाव्यता अध्ययन र उत्खननको विषय बेलाबेला उठ्ने गरे पनि सरकारी उदासीनताका कारण व्यवहारमा भने ठोस काम अघि बढ्न नसकेको हो ।

डोल्फु गाउँ नजिकैको पालाङ्जे, इटिङ र थोङ्वा क्षेत्रमा तामा खानी रहेको बताइन्छ। केही दशकअघिसम्म स्थानीय बासिन्दाले परम्परागत प्रविधि प्रयोग गरी उक्त खानीबाट ढुङ्गा सहितका तामाका डल्ला निकाल्ने र त्यसलाई पगालेर तामाका भाडाकुडा बनाउने गरेका थिए । बनाइएका  तामाका ताउला, गाग्री, माना, पाथी, हुन्डा र खड्कुँलो लगायतका सामग्रीहरू मुगुसहित हुम्ला, डोल्पा, जुम्ला, कालिकोट र बाजुरासम्म बिक्री गर्ने गरिएको स्थानीय बासिन्दाको भनाई छ । पुरानो पुस्ताले आफ्नै स्थानीय प्रविधि र साधन प्रयोग गरेर तामा निकाल्ने गरे पनि अहिले सरकारले संरक्षणका नाममा उत्खननमा रोक लगाएपछि हाल खानी बन्द अवस्थामा छ । खानीमा रहेका सुरुङ र तामाका धाउ समेत संरक्षण र अध्ययनको अभावमा ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ।

तामा खानी उत्खनन गर्न सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै गाउँपालिकाको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ। तर, खानी सञ्चालन तथा उत्खननका लागि स्थानीय तहले मात्र निर्णय गर्न नसक्ने भएकाले संघीय सरकारअन्तर्गतका सम्बन्धित निकायबाट अध्ययन, अन्वेषण र उत्खननको प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार तामा खानीको सम्भाव्यता अध्ययन र उत्खननका लागि गाउँपालिकाले पटक–पटक खानी तथा भूगर्भ विभागमा पत्राचार गरे पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न सकेन ।

जिल्ला समन्वय समितिका निवर्तमान संयोजक पूर्णबहादुर रोकायाले समेत सम्बन्धित निकायलाई तामा खानी उत्खननको प्रक्रिया अघि बढाइदिन आग्रह गर्दै पत्राचार गरे पनि त्यसबाट अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button