तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा एक विद्यालयको छात्रावासमा आगलागी

बैतडी। बझाङको बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालयको छात्रावासमा आगलागी भएको छ । आज बिहान करिब ११ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट छात्रावासका दुई कोठामा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक टेक बोहराले जानकारी दिनुभयो । छात्रावासमा बस्दै आएका शिक्षक रामबहादुर विष्ट र दुई जना विद्यार्थीका लत्ताकपडा, कापीकिताब तथा अन्य सामग्री जलेर नष्ट भएका छन् ।

प्रधानाध्यापक बोहराका अनुसार शिक्षक विष्टका शैक्षिक योग्यताका प्रमाणपत्र, नियुक्तिपत्रलगायतका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । विद्यालयको करिब ६० वाट क्षमताको सोलार सेट पनि आगलागीमा नष्ट भएको उहाँले बताउनुभयो ।

यस्तै, शिक्षक विष्टको एक तोलाभन्दा बढी सुनसमेत जलेर नष्ट भएको प्रधानाध्यापक बोहराले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button