‘नेपाल–भारतमैत्री’ हाम्रो साझा सम्पत्ति र सरोकारको विषय हो: प्रदेश प्रमुख देवकोटा

बागमती । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले ‘नेपाल–भारतमैत्री’ हाम्रो साझा सम्पत्ति र सरोकारको विषय भएको बताउनुभएको छ ।
मित्रराष्ट्र भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जद्वारा आज हेटौँडामा आयोजित लोक साङ्गीतिक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख देवकोटाले नेपाल र भारत दुई देशका जनता भावनात्मक सीमारहित प्रगाढ सम्बन्धले भरिपूर्ण रहेका बताउनुभयो ।
दुई देशका जनताबीच रहेको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता सांस्कृतिक कार्यक्रमको महत्त्वपूर्ण देन हुने उहाँको भनाइ थियो । भारतको स्वतन्त्रता आन्दोलन केवल भारतको इतिहासको एउटा महत्त्वपूर्ण अध्याय मात्र नभएको उल्लेख गर्दै प्रमुख देवकोटाले भन्नुभयो, “यसले स्वतन्त्रता, लोकतन्त्र, समानता र जनअधिकारका लागि विश्वभर भएका जनसङ्घर्षलाई प्रेरणा दिएको छ ।”
भारत स्वतन्त्र भएको केही वर्षमै नेपालमा निरङ्कुश राणा शासनको अन्त्य भएको उहाँले स्मरण गर्नुभयो । “नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै पुरानो, आत्मीय र बहुआयामिक छ”, प्रमुख देवकोटाले भन्नुभयो, “हाम्रो सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको कूटनीतिक सम्बन्धमा मात्र सीमित छैन यो जनस्तरको सम्बन्ध, संस्कृति, परम्परा, भाषा, धर्म, कला र भावनात्मक आत्मीयताले जोडिएको सम्बन्ध हो ।”
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि नेपालको पवित्रस्थल लुम्बिनी तथा ज्ञान र महापरिनिर्वाण प्राप्तिका बोधगया र कुशीनगर भारतका प्रसिद्धस्थलले विश्वलाई शान्ति, करुणा र मानवताका महान् सन्देश दिएको भन्दै प्रमुख देवकोटाले जनकपुरकी सीता माता र अयोध्याका भगवान् रामको सम्बन्धले पनि यी दुई देशको प्राचीन सांस्कृतिक सान्निध्यतालाई थप प्रगाढ बनाएको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्