प्रतिनिधिसभा बैठक: शून्य समय सांसदद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविका र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले ग्यास अभाव, बाढीपहिरो, बाढीपहिरो प्रभावितको अवस्था, बाढीले सडक अवरुद्ध, मलखाद अभावलगायत जनजीविका र जनसरोकारका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद जगतप्रसाद जोशीले सरकारी कार्यालयमा पटक पटक ‘सर्भरडाउन’ हुँदा सर्वसाधारणले सास्ती पाएकाले भरपर्दो, वैकल्पिक र विश्वसनीय सर्भर प्रणालीको विकास गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगतराज गिरीले बाजुराको त्रिवेणी गाउँपालिकामा बाढीपहिरोबाट प्रभावितको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गर्नुभयो ।
सांसद जगतसिंह धामीले मुलुकभित्र रहेका ताल क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरी आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो । सांसद जयपती रोकायाले नेपाल र चीनसँग जोडिएको हिल्सा नाकामा राज्यको उपस्थिति प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद झविलाल डुम्रेले प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भए पनि चरित्रहत्या गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो । सांसद टीका सङ्ग्रौलाले नागरिकको गुनासा सुन्नका लागि सिंहदरबारको गेटमा ‘गुनासो सुन्ने संयन्त्र’को विकास गर्नुपर्ने माग गर्नुभयो ।
सांसद टुक्राभद्रा हमालले साइबर अपराध नियन्त्रण गर्नका लागि आधुनिक र डिजिटल संरचना तयार पार्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद टेकबहादुर शाक्यले पर्सा जिल्लाकी लक्ष्मी खड्काको गत साउन १३ गते घरमा शङ्कास्पद मृत्यु भएको घटनामा सत्यतथ्य छानबिन गर्नका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद ठाकुरसिंह थारुले बर्दियाका ८० प्रतिशत घरधुरी खानेपानीबाट वञ्चित भइरहेकाले सरकारले उचित ढङ्गले खानेपानीको व्यवस्था गर्न माग गर्नुभयो । सांसद डा ताराप्रसाद जोशीले डडेलधुराको ग्रामीण क्षेत्रमा विद्युत् सेवा नियमित नहुँदा सर्वसाधारण र विद्यार्थी मर्कामा परेकाले यो समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तारा विश्वकर्माले श्रमिकले न्यूनतम तलब र सामाजिक सुरक्षा प्राप्त नगरिरहेका भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद ताहीर अलिभाटले लघुवित्त पीडित लामो समयदेखि राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसिरहेकाले यस विषयमा सरकारले पीडितको माग सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद तौफिक अहमद खानले रुपन्देहीकाका ग्रामीण क्षेत्रका सडक नबन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेकाले सो समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दीपकराज बोहराले प्रतिनिधिसभाको शून्य समयलाई व्यवस्थित गराउनका लागि माग गर्नुभयो ।
सांसद धर्मराज केसीले लमजुङका विभिन्न सडक निर्माणको पर्खाइमा रहेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो । सांसद ध्रुवराज राईले अस्पतालमा उपचार गर्नका लागि सर्वसाधारणले शय्या नपाएको विषयमा संसद्को ध्यानाकर्षण गराउनुभयो ।
सांसद नरेन्द्र साह कलबारले रौतहटका जनताले ग्यास र मलखादको समस्या व्यहोरिरहेका भन्दै यी समस्या समाधान गर्नका लागि सरकारसँग माग गर्नुभयो । सांसद निशा डाँगीले सर्पदंश उपचार केन्द्रमा दक्ष जनशक्ति, ‘एन्टिभेनम’, भेन्टिलेटरलगायत अत्याधुनिक सुविधासहित आवश्यक उपकरण र औषधि उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
सांसद निश्कल राईले इलाम र सुनसरी जिल्लाका विभिन्न सडकको विषयमा बारम्बार संसद्मा आवाज उठाए पनि सुनुवाइ नभएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पवित्रा विकले चाडपर्व नजिकिँदै जाँदा बजारमा चिनीको अभाव देखिएको विषयका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पुकार बमले बुढानिलकण्ठ नगरपालिका(८ मा रहेको ७७ रोपनी सार्वजनिक जग्गाको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद पुरुषोत्तम शुप्रभात यादवले कृषकले मलखाद र सिँचाइ झेल्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पुनमकुमारी अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षअघि उद्घाटन भए पनि सो क्षेत्रमा गानी गरेका होटेल व्यवसायी मर्कामा परिरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाका विद्यालयमा इन्टरनेट र विद्युत् नियमित आपूर्ति नहुँदा विद्यार्थीको अध्ययन अध्यापनमा समस्या भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाश गौतमले हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा श्रमिकले एक वर्षदेखि तलबमा समेत नपाएकोप्रति गुनासो गर्नुभयो ।
सांसद प्रकाशचन्द्र परिवारले खेललाई अहिलेको समयमा ‘सफ्टपावर’ का रूपमा हेर्न थालिएको बताउँदै पदक र प्रतिष्ठाका लागि खेलिरहेका खेलाडी आशिष राई जस्ता घाइतेको दुःखमा सरकार भएको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो । सांसद प्रकाशसिंह कार्कीले ‘एउटा नागरिकले कति पटक आफू नागरिक भएको प्रमाणित गर्नुपर्ने हो ?’ भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
सांसद प्रदिप विष्टले देशमा साँच्चै ग्यासको अभाव हो कि अभावको त्रास देखाइएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभा कार्कीले सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्नेमा जोड दिनुभयो ।
शून्य समयमा नरेन्द्रकुमार केरुङ, नीतिमा भण्डारी कार्की, नीता घतानी, पारममणी गेलाल, प्रकाश पाठक, प्रभा ढकाल, डा प्रमिलाकुमारी गच्छदार, प्रशान्त उप्रेती, प्रेमबहादुर बयक, प्रेमलाल चौधरीलगायत सांसदहरूले बाढीपहिरोले प्रभावित नागरिक, सडक अवरुद्ध, मलखाद अभावलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्