तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । 

अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी गर्न उहाँले सरोकार भएका निकायलाई अनुरोध गर्नुभयो ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गर्नुभएको हो । 

उहाँले घटनास्थलमा तीनवटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार गरिरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर समन्वय गरिरहेको उल्लेख गर्नुभयो । 

उहाँले सम्पर्कविहीन नागरिकको जीवनरक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ । खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोतसाधनको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताउनुभएको छ । 

उद्धारमा खटिने जनशक्तिले सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।

पहिरोबाट प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायलाई समन्वय र सहकार्य गर्न मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभएको छ । खोज तथा उद्धार कार्य सम्पन्न भएपछि प्रभावित परिवारको पुनर्स्थापना तथा आवश्यक राहतका कार्यक्रम तत्काल अघि बढाइने उहाँको भनाइ छ ।

वर्षायाममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभएको छ । उहाँले विपद्को जोखिम वा सूचना प्राप्त हुनासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत नागरिकलाई अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button