तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठनसम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो ।

समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनुभएको छ । 

समितिको पहिलो बैठकबाट अध्यक्ष चयन हुने सभामुख अर्यालले बताउनुभयो ।

समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोसी त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सम्बन्धी प्रतिवेदन तयार पार्ने सभामुख अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button