ग्यास अभाव देखिएपछि सुर्खेतमा छड्के अनुगमन तीव्र
'अनावश्यक भण्डारण नगर्न सुर्खेत प्रशासनको उपभोक्तासँग आग्रह'
सुर्खेत। खाना पकाउने ग्यास (एलपी) को अभाव देखिन थालेपछि सहज आपूर्ति बढाउन जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र पारेको छ । सुर्खेतका बजारहरूमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको हो ।

उद्योगबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै जिल्ला प्रशासनमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनलाई थप कडाइ पारिएको छ । आज बिहान सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले माग र आपूर्तिवीच क्रमशः सुधार भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तासँग आग्रह गरेको हो ।

सप्रजिअ कार्कीले विगतको तुलनामा ग्यासको आपूर्ति बढेको भएपनि बजारमा अभाव देखिनुले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको हुनसक्ने अनुमान गर्नु भयो । उहाँले मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले ग्यास अभावको हल्लाको पछाडी लागेर अतिरिक्त भण्डारण नगर्न सुझाव दिनु भयो । अनुगमनका क्रममा ग्यासको आपूर्ति लगातार भइरहेकाले केही डिलरमा माग अत्यधिक र केही डिलरमा सामान्य माग रहेको पाइएको उहाँको भनाइ थियो ।
नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका सूचना अधिकारी रामकुमार कुमालले विगतको तुलनामा यस वर्ष मागभन्दा बढी नै ग्यास आपूर्ति भएको बताउनु भयो । भारतबाट सहजै एलपी ग्यासको आयात हुनुका साथै उद्योगबाट सिलिण्डर ‘रिफिलिङ’ (भर्ने काम) गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उहाँले उपभोक्तासँग आग्रह गर्नु भयो । अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने देखिएको उहाँको भनाइ छ । उपभोक्तालाई बजारको मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको जनाउँदै ग्यास विक्रेताले घरायसी प्रयोगकर्ता उपभोक्तालाई प्राथमिकतामा राखी ग्यास बिक्री वितरण गर्न उहाँले सुझाव दिनु भयो ।
उता अनुगमनका क्रममा ग्यास डिलरमा नियमित आपूर्ति भइरहेको भएपनि उपभोक्ताको माग भने कायमै रहेको पाइएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्