तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक : विभिन्न ३ निकायका वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न ३ निकायका वार्षिक प्रतिवेदन पेश भएको छ । 

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/८२ सदन समक्ष पेश गर्नुभयो । 

यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरुङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भएपनि सफल नभएको बताउनुभयो । 

गृहमन्त्री सुधन गुरुङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो । 

तीन तहका सरकार मध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरुङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो ।

गृहमन्त्री गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणको छानविन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका र तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो । 

गृहमन्त्री गुरुङले पुरानो कानुनी व्यवस्थाका कारण जेन्जी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पुरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शङ्का नगर्न पनि आग्रह गर्नुभयो । 

गृहमन्त्री गुरुङ समय लिएर संसद्को रोस्ट्रममा पुगेपछि सुरुमा केहीबेर भावुक भई नबोलीकन रोष्ट्रमबाट नबोली फर्किनुभएको थियो । 

यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खडकबहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानून कार्यान्वयन हुन्छ भनने भ्रमबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरू वर्षामान पुन, यशोदाकुमारी बराल, शाहजन खातुन, आसिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्वासीहरू सडकमा अलपत्र हुनुपरेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देश भित्रै गरिखान सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै बैठकको शुन्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न, लागुऔषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि नेपाली काँग्रेसका सांसद वासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो । 

सांसद थापाले राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बनेको र एम्बुलेन्स सम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्‍याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी थियो भनी प्रश्न गर्नुभयो । 

यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति विना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए–नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

यस्तै विपक्षी दलका सांसदहरू पार्वती विक, राधिका रम्तेल, ज्ञानबहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असार ३० गते मङ्गलवार बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button