भारतीय पर्यटकका सवारी साधनलाई निःशुल्क प्रवेश: ठोरीको पर्यटन व्यवसाय फेरि लयमा
वीरगन्ज। मधेश प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रको रूपमा विकसित हुँदै गइरहेको पर्साको ठोरीमा भारतीय पर्यटकका सवारी साधनलाई निःशुल्क प्रवेश पास (सुविधा पास) दिन थालिएसँगै यहाँको पर्यटन व्यवसाय पुनः लयमा फर्किएको छ।

ठोरीस्थित छोटी भन्सार कार्यालयले हिजो (मङ्गलवार) दिउँसोदेखि भारतीय पर्यटकका सवारी साधनलाई निःशुल्क प्रवेशको सुविधा दिन थालेको हो। यस व्यवस्थाले विगत चार दिनदेखि सुस्त बनेको ठोरीको पर्यटकीय गतिविधिमा नयाँ उत्साह थपेको छ।
वीरगन्ज भन्सार कार्यालयका लेखापाल हृदयनारायण साहसहितको कर्मचारी टोलीले मङ्गलवार ठोरी छोटी भन्सार पुगेर यो सेवाको सुरुवात गरेको हो । अब यो भन्सारमा एक नायब सुब्बा र एक कार्यालय सहयोगी नियमित रुपमा बस्ने साहले जानकारी दिए ।

ठोरीकी होटल व्यवसायी सगीता लामाले नेपाल सरकारको यो निर्णयले आफूहरूलाई धेरै राहत मिलेको बताउनुभयो । उहाँले ठोरीको पर्यटन व्यवसायमा एक अर्ब रुपैयाँ बढी लगानी भइसकेको र भारतीय पर्यटकमा निर्भर यहाँको होटल व्यवसाय भारतीयको प्रवेश नै असहज भएको अवस्थामा सुस्त भएको बताउनुभयो ।
अब ठोरीमा आउने भारतीय पर्यटकले ठोरी वरपरको (चार–पाँच किलोमिटर) क्षेत्रसम्म बिनारोकटोक आवागमन गर्न पाउनेछन् ।
लामो समयदेखि भारतीय सवारीसाधनको सहज प्रवेशको माग गर्दै आन्दोलनरत ठोरीका पर्यटन व्यवसायी, स्थानीय व्यापारी र सरोकारवालाको प्रयास साकार भएसँगै स्थानीय पर्यटन तथा होटल व्यवसायीले राहात पाएका छन् ।
यसअघि भारतीय पर्यटकले आफ्नै सवारीसाधनमा ठोरी बजार वा आसपासका पर्यटकीय गन्तव्यसम्म पुग्न पनि विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्थ्यो । निःशुल्क पासको व्यवस्था नहुँदा राजस्व तिरेर मात्र प्रवेश गर्नुपर्ने बाध्यता थियो । परिणामस्वरूप अधिकांश भारतीय सवारीसाधन सीमा क्षेत्रमै रोकिने गरेका थिए, जसले ठोरीको पर्यटन व्यवसाय, होटल, रेस्टुरेन्ट तथा स्थानीय व्यापारमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको गुनासो थियो ।
यही समस्यालाई लिएर स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाले निरन्तर आन्दोलन गर्दै आएका थिए । पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले समेत सोमबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसअघि पर्यटन व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएर भारतीय सवारीसाधनलाई ठोरी छोटी भन्सारबाटै निःशुल्क सुविधा पास उपलब्ध गराउन माग गरेको थियो ।
स्थानीय तह, प्रशासन र सम्बन्धित निकायबिचको छलफलपछि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई ठोरी छोटी भन्सारबाटै निःशुल्क सुविधा पास उपलब्ध गराउने सहमति भएसँगै लामो समयदेखिको अवरोध हटेको छ ।






प्रतिक्रिया राख्नुहोस्