रास्वपा स्याङ्जाको प्रथम जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा निर्वाचित
स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट रुक्माङ्गत भण्डारी जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ।
शनिबार राति सम्पन्न मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी उपेन्द्र अर्याललाई २६० मतान्तरले पराजित गर्दै नेतृत्वको जिम्मेवारी प्राप्त गर्नुभएको हो। कुल ३१४ मतमध्ये भण्डारीले २८४ मत प्राप्त गर्नुभएको थियो भने ६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्षसँगै उपाध्यक्ष पदका लागि मात्र मतदान भएको थियो। उपाध्यक्षमा उमा फुयाल निर्वाचित हुनुभएको छ। उहाँले १४५ मत प्राप्त गर्दा श्रीराम घिमिरेले १००, शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गर्नुभएको थियो।
अन्य पदाधिकारी तथा सदस्यहरू भने सर्वसम्मत रूपमा चयन भएको निर्वाचन अधिकृत झविलाल डुम्रेले जानकारी दिनुभयो।
सचिवमा प्रशन्न पौडेल र सहसचिवमा टुकराज अर्याल चयन हुनुभएको छ। सदस्यहरूमा पिताकुमारी खनाल, टंकप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिका प्रसाद सापकोटा रहनुभएको छ।
यसैगरी, पार्टीको क्षेत्रीय संरचनाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १ को अध्यक्षमा सूर्य पौडेल तथा क्षेत्र नं. २ को अध्यक्षमा जगदीश गैरे चयन हुनुभएको छ।
अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, जनसरोकारका विषय उठान तथा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपा स्याङ्जा संगठन निर्माण र विस्तारको नयाँ चरणमा प्रवेश गरेको पार्टी कार्यकर्ताहरूको भनाइ छ।







प्रतिक्रिया राख्नुहोस्