तपाईँ सुन्दै हुनुहुन्छः

विशाल पर्खालले जोगाउँदै रारा विमानस्थल, अझै बाँकी छ पहिरोको चुनौती

oplus_8388608

मुगु I हिमाली जिल्ला मुगुको रारा विमानस्थललाई पहिरो तथा भू–क्षयको जोखिमबाट जोगाउन निर्माण गरिएको विशाल ग्याबियन पर्खाल अहिले विमानस्थल सुरक्षाको प्रमुख आधार बनेको छ। 

वर्षायाममा भिरालो भूभागबाट आउने पहिरो, माटो कटान र ढुङ्गा खस्ने जोखिम न्यूनीकरण गर्न निर्माण गरिएको उक्त संरचनाले विमानस्थलको दीर्घकालीन सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

रारा विमानस्थल आयोजना प्रमुख महेश नेपालीका अनुसार विमानस्थल आसपासका धेरै भूभाग अझै पनि पहिरोको उच्च जोखिममा रहेकाले थप संरक्षणका काम आवश्यक छन्। उहाँका अनुसार हाल निर्माण गरिएको पर्खालले जोखिम कम गरे पनि सम्पूर्ण क्षेत्र सुरक्षित बनाउन थप पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।

कुल १९ करोड ६९ लाख ५ हजार २२७ रुपैयाँ ४१ पैसाको लागतमा निर्माण गरिएको ग्याबियन पर्खाल करिब चार वर्ष लगाएर सम्पन्न गरिएको हो । 

करिब १९ दशमलव ९५ मिटर उचाइ रहेको पर्खाल ढुङ्गा र फलामे जालीको संयोजनबाट निर्माण गरिएको छ। विमानस्थलको माथिल्लो भिरालो भागबाट बग्ने माटो तथा खस्ने ढुङ्गाले धावनमार्ग र अन्य संरचनामा असर पुर्‍याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै यो संरक्षण संरचना निर्माण गरिएको हो ।

स्थानीयवासीका अनुसार विगतका वर्षहरूमा वर्षायाममा सुरु भएसँगै विमानस्थल आसपास माटो बग्ने र साना–ठुला ढुङ्गा खस्ने समस्या दोहोरिने गरेको थियो। यस्तो अवस्थाले हवाई सेवा सञ्चालनमा समेत चुनौती सिर्जना गर्ने गरेको उनीहरूको भनाइ छ।

रारा ताल प्रवेशको प्रमुख हवाई नाकाका रूपमा रहेको विमानस्थल मुगुवासी, कर्मचारी, बिरामी तथा पर्यटकका लागि महत्त्वपूर्ण यातायात केन्द्र हो। जिल्लामा सडक सञ्जाल विस्तार भए पनि वर्षभरि भरपर्दो र सहज यातायात उपलब्ध नहुँदा हवाई सेवा अझै पनि अत्यावश्यक माध्यमका रूपमा रहेको छ।

सरोकारी पक्षले भने संरचना निर्माणसँगै यसको नियमित अनुगमन, मर्मत सम्भार र जोखिमयुक्त अन्य क्षेत्रमा समेत संरक्षण कार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।   दिन  प्रति दिन  जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पहिरो र भू–क्षयको जोखिम बढ्दै गएकाले विमानस्थलजस्ता संवेदनशील पूर्वाधारको सुरक्षा दीर्घकालीन रूपमा सुनिश्चित गर्न थप योजना आवश्यक छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button