तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला क्यान्सर अस्पतालमा घुँडाको ट्युमर हटाएर कृत्रिम जोर्नी प्रत्यारोपण

नेपालगञ्ज । केही वर्ष अघिसम्म घुँडाको हड्डीमा जटिल ट्युमर देखिएका बिरामीले उपचारका लागि काठमाडौँ वा भारतका अस्पताल जानुपर्ने अवस्था थियो । अहिले भने बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमै यस्ता जटिल शल्यक्रिया सफलतापूर्वक हुन थालेका छन् । 

अस्पतालमा हालै बर्दियाको बढैयाताल गाउँपालिकाका ३० वर्षीय युवकको घुँडाको हड्डीमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक अंको सर्जन डा. गोपाल पौडेलको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो । ती युवक विगत छ महिनादेखि अस्पतालको नियमित फलोअपमा थिए । घुँडाको हड्डीमा भएको ट्युमरका कारण उनलाई हिँडडुल गर्न समेत कठिन भइरहेको थियो । यो ट्युमर क्यान्सर नभए पनि निकै आक्रामक प्रकृतिको हुने र शल्यक्रियापछि पनि पुनः पलाउन सक्ने भएकाले यसको उपचार चुनौतीपूर्ण मानिन्छ । 

डा। पौडेलका अनुसार शल्यक्रियामा ट्युमरले असर गरेको हड्डीको भाग निकालिएको छ । त्यसपछि विशेष प्रकारको कृत्रिम धातु (मेगाप्रोस्थेसिस) प्रयोग गरेर घुँडाको जोर्नी पुनः निर्माण गरिएको छ । चिकित्सकीय भाषामा यसलाई टोटल नी रिप्लेसमेन्ट विथ मेगाप्रोस्थेसिस भनिन्छ । डा. पौडेलले करिब चार घण्टा ३० मिनेट लगाएर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताउनुभयो । अहिले बिरामीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । उनी सामान्य रूपमा हिँड्न थालेका छन् भने शुक्रवारसम्म डिस्चार्ज गर्ने तयारी गरिएको छ । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गरिएको यो दोस्रो यस्तो जटिल शल्यक्रिया हो । यसअघि पनि बाँकेको नरैनापुरका २८ वर्षीय युवकको यस्तै प्रकारको सफल शल्यक्रिया यही अस्पतालमा गरिएको थियो । शल्यक्रियामा डा. पौडेलसँगै भरतपुर क्यान्सर अस्पतालका अर्थोपेडिक अंको सर्जन डा. अरुण सिग्देल, डा. सुरज मण्डल, एनेस्थेसियोलोजिस्ट डा. विवेक पौडेल तथा नर्सिङ स्टाफ टिका शाही, हेमा गहतराज र बविता खनाल लगायतको टोली सहभागी थियो । डा. पौडेलका अनुसार यस्ता ट्युमर समयमै पहिचान गरी उपचार गर्न सके बिरामीलाई सामान्य जीवनमा फर्काउन सकिन्छ । खजुरामै यस्तो सेवा उपलब्ध हुन थालेपछि बिरामीले काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यता कम हुनुका साथै आर्थिक, मानसिक र सामाजिक भार पनि घट्ने अपेक्षा गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button