तपाईँ सुन्दै हुनुहुन्छः

अखाद्य वस्तु बिक्री गर्ने धनुषाका आधा दर्जन होटेलमाथि कारबाही

जनकपुरधाम। गुणस्तरहीन खाद्य पदार्थ बिक्री गरी मानव स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गर्ने धनुषाका आधा दर्जन होटल सञ्चालकहरू कारबाहीमा परेका छन्।

बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि उनीहरूलाई आर्थिक जरिवानासहित कारबाही गरिएको हो।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले संयुक्त अनुगमन गरेको थियो। गुणस्तर मापन गर्ने मेसिनसहित गरिएको उक्त अनुगमनका क्रममा होटेलहरूले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य सामग्री प्रयोग गरेको पाइएको थियो।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार निरीक्षक कृष्ण गैह्रेको आदेशानुसार कसुरको मात्राको आधारमा धनुषाको लक्ष्मीनियामा सञ्चालनमा रहेको वावाको ढावा होटललाई ३५ हजार, बाजेको सेकुवालाई ७५ हजार, रोयल सम्राट होटेलका सञ्चालकलाई ५ हजार, वर्गर हाउसलाई ३५ हजार जरिवाना गरेको छ ।

अनुगमन टोलीले कुल १० वटा होटलको निरीक्षण गरेको थियो। त्यस क्रममा अखाद्य पदार्थको बिक्री–वितरण भइरहेको, म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरिएको र सरसफाइमा व्यापक लापरबाही पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो।

यस्तै, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले बाध्यता वा रहरले होटलमा खाना खान जाने सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने अन्य केही होटेलहरूलाई सख्त चेतावनी समेत दिइएको बताउनुभयो।

पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिथिला नगरपालिकाको लालगढ र ढल्केवरबाट सुरु भएको यो अनुगमन कार्यलाई समितिले निरन्तरता दिने भएको छ। नाफा कमाउने बहानामा सर्वसाधारणको स्वास्थ्य जोखिममा पार्नेहरूमाथि कारबाही सुरु भएपछि स्थानीय उपभोक्ताहरूले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button