उदयपुरमा जङ्गली हात्तीको त्रास बढ्दो
उदयपुर । उदयपुरमा जङ्गली हात्तीको आक्रमण वर्षेनी बढ्दै जाँदा वन–मानव द्वन्द्व झन् जटिल बन्दै गएको छ ।

केही दिनअघि मात्रै चौदण्डीगढी नगरपालिका–३ हात्तीसार तथा वडा नं. ७ का लामाचौरी र श्री पञ्चमी क्षेत्रमा जङ्गली हात्तीको समूहले एकै रात ११ घरमा क्षति पुर्याउँदा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भयो । यो घटना सेलाउन नपाउँदै सार्वजनिक भएको पछिल्लो तथ्याङ्कले उदयपुरमा हात्तीको त्रास निरन्तर गहिरिँदै गएको स्पष्ट सङ्केत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पछिल्ला ६ आर्थिक वर्षमा जङ्गली हात्तीका कारण जिल्लामा एक करोड ९ लाख ११ हजार २ सय रुपैयाँभन्दा बढी बराबरको भौतिक तथा आर्थिक क्षति भएको छ । यस अवधिमा १३८ घरपरिवार प्रभावित, १३४ घर, १६ गोठ र ८२ अन्य संरचनामा क्षति पुगेको छ भने १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार मानव बस्तीमा प्रवेश गरेर सबैभन्दा बढी क्षति पुर्याउने वन्यजन्तु जङ्गली हात्ती नै हो । उहाँका अनुसार पछिल्ला वर्षहरूमा हात्तीको प्रवेश, आक्रमण र त्यसबाट हुने आर्थिक क्षति निरन्तर बढ्दो क्रममा रहेको छ ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा २ जना घाइते, १३ परिवार प्रभावित र ९ लाख ७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । २०७८/७९ मा १ जना घाइते, ३० परिवार प्रभावित हुँदा क्षति बढेर ३३ लाख ७७ हजार रुपैयाँ पुगेको थियो ।
२०७९/८० मा मानवीय क्षति नभए पनि ६ परिवार प्रभावित भई २ लाख ९५ हजार रुपैयाँ बराबरको नोक्सानी भयो । २०८०/८१ मा २६ परिवार प्रभावित हुँदा १६ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति भयो भने २०८१/८२ मा ४ जना घाइते, १८ परिवार प्रभावित र १६ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को असार १५ गतेसम्म मात्रै ५० घरपरिवार प्रभावित भइसकेका छन् । यस अवधिमा मात्रै २९ लाख ७६ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक बमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकाका वन क्षेत्रसँग जोडिएका बस्तीहरू सबैभन्दा बढी जोखिममा छन् । जङ्गलबाट बस्ती पस्ने हात्तीले घर भत्काउने, अन्नबाली नष्ट गर्ने र स्थानीयमाथि आक्रमण गर्ने घटना हरेक वर्ष दोहोरिँदै आएको छ ।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरी हुँदै कोशी टप्पु वन्यजन्तु आरक्षबाट उदयपुर प्रवेश गर्ने हात्तीको बथान बेलका हुँदै चौदण्डीगढी, त्रियुगा र कटारी भएर सिन्धुलीतर्फ जाने गरेको स्थानीय तथा सुरक्षा निकायको भनाइ छ ।
चौदण्डीगढी नगरपालिका–५ का वडाध्यक्ष तुलसी ढकालका अनुसार विशेष गरी मदन भण्डारी लोकमार्ग आसपासका चुरे क्षेत्रका बस्तीहरू नियमित रूपमा हात्तीको जोखिममा छन् । “हात्ती आउने क्रम रोकिएको छैन, स्थानीयहरू हरेक रात त्रासमा बस्न बाध्य छन्,“ उहाँले भन्नुभयो। दीर्घकालीन समाधानको अभावमा वन–मानव द्वन्द्व झन् गम्भीर बन्दै गएको उहाँको भनाइ छ ।
यता त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जङ्गली हात्तीको समस्या अब स्थानीय तहले मात्र धान्न नसक्ने अवस्था सिर्जना भएको बताउँदै संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले हात्तीको आवागमन अध्ययन, सुरक्षित जैविक मार्ग (Elephant Corridor) को व्यवस्थापन, आधुनिक पूर्वसूचना प्रणाली, जोखिमयुक्त बस्तीको संरक्षण तथा प्रभावित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट कार्ययोजना तयार गर्न तीनै तहका सरकार मिलेर अघि बढ्नु पर्ने बताउनु गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्