तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा २९ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–४, खैरेनीस्थित मानकिनार बस्तीका २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)वितरण गरिएको छ।

वडा कार्यालयमा आज आयोजित कार्यक्रममा लाभग्राही परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो। कार्यक्रम बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष बलराम बास्तोला प्रमुख अतिथि तथा आयोगका सदस्य पदमनिधि सोती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति बर्दियाका पदाधिकारी, बढैयाताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल सरकारको भूमिसम्बन्धी नीति तथा कार्यक्रमअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानअन्तर्गत लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिइएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हमालले लाभग्राही परिवारलाई लालपुर्जा हस्तान्तरण गर्दै भूमिहीन तथा सुकुम्बासी नागरिकलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्नु राज्यको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसबाट नागरिकको सामाजिक तथा आर्थिक सुरक्षामा टेवा पुग्नुका साथै विभिन्न सरकारी सेवा तथा सुविधामा सहज पहुँच स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button