उन्नत प्रविधि र ज्ञानबाट महिला कृषकको जीवनमा परिवर्तन
जनकपुरधाम । धनुषा तथा महोत्तरीका चार पालिकामा विश्व बैङ्क र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ ।

दोस्रो चरण अन्तर्गत धनुषाको वटेश्वर, जनकनन्दनी तथा महोत्तरीको सोनमा तथा सम्सी गाउँपालिकामा सञ्चालन रहेको कार्यक्रमले महिलाहरूलाई जलवायु अनुकूलको खेती प्रणालीको विकास मार्फत साना किसानको जीवन स्तरमा सुधार गर्ने लक्ष्य अनुसार काम गरेपछि महिला कृषकहरू लाभान्वित भएका छन् ।
अहिले रासायनिक मलको अभाव भएको वेलामा महिला किसानहरु स्थानीय सामाग्रीको प्रयोग गरेर विषादीको निर्माणका साथै पशु चौपायाको मल तथा मूत्रको प्रयोग गरेर प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग गरेर कृषि उत्पादन गरेपछि उत्पादित खाद्यान्नको बिक्रीबाट राम्रो आय आर्जनका साथै माटोको उर्वरा शक्ति बढाउनमा सफल भएका छन् ।
आयोजनाका कारणले सुख्खा क्षेत्रको रुपमा रहेको महोत्तरीका सम्सी गाउँपालिका वडा नंं ८ सोनमाका कृषकहरूको जीवनमा परिवर्तन आएको छ । देवी करैला बारी कृषक पाठशालामा प्राप्त गरेको ज्ञानको आधारमा यस वर्ष वैज्ञानिक विधिद्वारा करैला खेती गरेर दुई कट्ठामा लगाएको करैला खेतीबाट २ लाख ५० हजार आम्दानी गर्न सफल भएको महिला कृषक उर्मिला कुमारी यादवले बताउनुभयो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाले ८५ प्रतिशत अनुदानमा कृषिका आवश्यक पर्ने साना उपकरण तथा बीउ विजन तथा प्रविधि हस्तान्तरण गर्दै आएको आयोजनाका प्रमुख रविलाल शर्माले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्