तपाईँ सुन्दै हुनुहुन्छः

मुगुको ओझेलमा परेको ‘च्याङ्जा झरना’: पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना

मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा अवस्थित ‘च्याङ्जा झरना’ पर्यटकीय आकर्षणको नयाँ गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको एक रमणीय प्राकृतिक सम्पदा हो।

अग्ला चट्टानहरूको बीचबाट तीव्र वेगमा झर्ने यो झरनाले यहाँ पुग्ने जो-कोहीलाई लोभ्याउने गर्दछ।

जिल्ला सदरमुकाम गमगढीबाट करिब दुई दिनको पैदल यात्रापछि पुग्न सकिने उक्त झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको मुगुम कार्मारोङ गाउँपालिका वडा न-२, मुगु गाउँका स्थानीय छोर्तेन लामा बताउनुहुन्छ। झरनाको वरिपरि रहेका अग्ला पहाड, चट्टानी भू–भाग, हरियाली र यहाँको चिसो वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सहजै आकर्षित गर्न सक्ने देखिन्छ।

“उचित प्रचार–प्रसार र पर्यटकीय पूर्वाधारको अभावका कारण च्याङ्जा झरना हालसम्म ओझेलमा परेको छ। स्थानीय सरकारले यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके मुगुको समग्र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,” स्थानीयवासीहरूकाे भनाइ छ।

स्थानीयका अनुसार झरना क्षेत्रसम्म पुग्ने पदमार्ग, ठाउँ–ठाउँमा विश्रामस्थल र पर्यटकीय सूचना बोर्ड निर्माण गरी व्यापक प्रचारप्रसार गर्न आवश्यक छ। यसो गर्न सके यस क्षेत्रले पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय बासिन्दाको आयआर्जन र आर्थिक विकासमा समेत ठूलो सहयोग पुग्नेछ।

प्राकृतिक रूपमा अत्यन्तै मनमोहक रहेको च्याङ्जा झरनाले आगामी दिनमा मुगुको पर्यटन सम्भावनालाई थप नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button