बाँदर आतङ्कको समाधान खोज्दै पोखराका विज्ञहरू सिप्लिकान नर्सरीमा
पोखरा । सिप्लिकान केवल एउटा वनस्पति मात्र नभई स्वास्थ्य, वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बहुउपयोगी प्राकृतिक सम्पत्ति भएको बताइएको छ । पछिल्लो समय कृषिमा देखिएको बाँदर आतङ्क, उत्पादन लागत वृद्धि तथा परम्परागत खेतीप्रति घट्दो आकर्षणका बीच सिप्लिकान खेतीलाई वैकल्पिक तथा दीर्घकालीन समाधानका रूपमा अघि सार्न थालिएको छ ।

पर्यटकीय राजधानी पोखरालाई सिप्लिकान खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा–३२ तल्लो गगन गौडास्थित ऊँ कृषि फर्ममा सञ्चालित सिप्लिकान नर्सरी अहिले कृषक, अनुसन्धानकर्ता तथा कृषि विज्ञहरूको आकर्षणको केन्द्र बनेको छ ।
यसै क्रममा पोखरा महानगरपालिका कृषि कार्यालय तथा कृषि महाशाखाका प्रमुख मनहर कँडरिया र व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले संयुक्त रूपमा नर्सरीको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनीहरूले सिप्लिकान खेतीले बाँदर आतङ्कबाट पीडित कृषकलाई राहत दिन सक्ने विश्वास व्यक्त गरेका थिए ।
उनीहरूका अनुसार सिप्लिकान खेती व्यावसायिक रूपमा विस्तार गर्न सकिए कृषकको आयआर्जन वृद्धि हुनुका साथै वातावरण संरक्षण, प्राकृतिक जडीबुटी उत्पादन र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्नेछ ।
विज्ञहरूले सिप्लिकानलाई केवल औषधीय वनस्पति मात्र नभई नवप्रवर्तनशील व्यवसाय, दिगो पर्यटन, उद्यमशीलता विकास, व्यवसाय योजना, बजार विस्तार तथा ब्रान्डिङसँग जोडिएको बहुआयामिक सम्भावना बोकेको वनस्पतिका रूपमा व्याख्या गरेका छन् ।
विशेषगरी पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सिप्लिकानबाट उत्पादन हुने साग, अचार, गुन्द्रुक लगायतका परिकार उपलब्ध गराउन सकिने सम्भावना रहेको बताइएको छ । यसबाट पोखराको कृषि पर्यटनलाई समेत नयाँ पहिचान दिन सकिने कृषि विज्ञहरूको भनाइ छ ।
ऊँ कृषि फर्मका निर्देशक कविराज खनालले “राज्यले नचिनेको भए पनि माटो र प्रकृतिले चिनेको कृषक” भन्ने अवधारणालाई आत्मसात गर्दै बाँदर आतङ्कको समाधान, दिगो कृषि व्यवसाय तथा चार पुस्तासम्म टिक्ने कृषि उद्यम निर्माण गर्ने लक्ष्यसहित आफू लागिपरेको बताए । उनका अनुसार हाल नर्सरीमार्फत ४० हजारभन्दा बढी सिप्लिकानका बिरुवा उत्पादन तथा बिक्री–वितरण भइरहेको छ । कृषकहरूबाट बिरुवाप्रति उत्साहजनक चासो देखिएको उनले जानकारी दिए ।
फर्मले वातावरण संरक्षणसँगै आयआर्जन वृद्धि गर्ने उद्देश्यले सिप्लिकान खेती विस्तार अभियान सञ्चालन गरिरहेको जनाएको छ । इच्छुक कृषक तथा व्यवसायीलाई प्राविधिक सहयोग, बिरुवा तथा आवश्यक परामर्श उपलब्ध गराइने समेत फर्मले जनाएको छ ।
ऊँ कृषि फर्मका अनुसार बाँदर आतङ्कका कारण परम्परागत खेती छाड्न बाध्य भएका कृषकका लागि सिप्लिकान खेती नयाँ आशाको आधार बन्न सक्नेछ ।








प्रतिक्रिया राख्नुहोस्