तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भाषा संस्कृति सिकाउन पहिलो पाइला, ब्राण्ड एम्बास्डरमा केकी

काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरूलाई  लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ । उक्त डिजिटल स्कुलको सद्भावना दुत् (ब्रान्ड एम्बास्डर)मा अभिनेत्री केकी अधिकारी अनुबन्ध हुनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त ‘एप’को शुभारम्भ गर्नुभयो ।

विदेशी भूमिमा जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले पहिलो पाइला एपको शुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई संवर्धन र प्रवर्धन गर्न यो एपले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विदेशी भूमिमा रहने धेरै नेपाली र बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने विश्वास अधिकारीको छ । 

नेपाली भाषालाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एप ‘डिजिटल स्कुल’ को निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले बताएको छ । पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाहरूले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृति सिक्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृति, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने विषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताउनुभयो । वरिष्ठ गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतिमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरु गराउन पहिलो पाइला कोशेढुङ्गा साबित हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button