मुगुमा दाउराकाे निर्भरता कायमै, धुवाँरहित चुलोको प्रयोग बढ्दो

मुगु । हिमाली जिल्ला मुगु जिल्ला का अधिकांश घरपरिवार अहिले पनि खाना पकाउने मुख्य इन्धनका रूपमा दाउरामै निर्भर रहेका छन् । जिल्लाका ग्रामीण बस्तीमा एलपी ग्यास, विद्युत् तथा अन्य वैकल्पिक इन्धनको सहज पहुँच नहुँदा स्थानीयहरू नजिकका वनबाट दाउरा संकलन गरेर दैनिक गुजारा चलाउँदै आएका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मुगु जिल्लामा १२ हजार ४ सय ३९ घरधुरी रहेका छन् भने कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ । जिल्लाका करिब ९० प्रतिशतभन्दा बढी घरपरिवारले अझै पनि वनबाट ल्याइने दाउरालाई मुख्य इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । सदरमुकाम गमगढी बजार तथा आसपासका क्षेत्रमा केही मात्रामा एलपी ग्यासको प्रयोग हुने गरे पनि ग्रामीण बस्तीमा दाउराकै प्रयोग भइरहेको छ ।
पछिल्ला वर्षहरूमा भने ग्रामीण क्षेत्रमा धुवाँरहित चुलोको प्रयोग विस्तारै बढ्न थालेको छ । स्थानीयका अनुसार धुवाँरहित चुलो प्रयोग गरेपछि कम दाउरा खपत हुने, भान्साभित्र धुवाँ कम हुने तथा स्वास्थ्यमा समेत सकारात्मक प्रभाव परेको अनुभव गरिएको छ ।

छायाँनाथ रारा नगरपालिका–७ का स्थानीय विष्णबहादुर शाहीका अनुसार गाउँघरका अधिकांश नागरिक अझै पनि वनबाट दाउरा ल्याएर खाना पकाउन बाध्य छन् । धुवाँरहित चुलो प्रयोग गर्न थालेपछि पहिलेको तुलनामा दाउरा कम खपत हुने र घरभित्रको धुवाँ पनि घटेको उहाँले बताउनुभयो ।
त्यस्तै सोरु गाउँपालिका–८ का डिलबहादुर बमका अनुसार धुवाँरहित चुलोको प्रयोग बढ्दै जाँदा स्थानीयलाई राहत पुगेको छ । पहिले खुला चुलोमा धेरै दाउरा आवश्यक पर्ने भए पनि अहिले धुवाँरहित चुलोले इन्धन बचत हुनुका साथै भान्सा पनि सफा रहने अनुभव उहाँले सुनाउनुभयो ।
स्थानीय तह तथा विभिन्न संघसंस्थाले धुवाँरहित चुलो वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि यसको प्रयोग विस्तारै बढ्न थालेको स्थानीयहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्