तपाईँ सुन्दै हुनुहुन्छः

जापानी सहयोगमा सरावलमा विद्यालय भवन शिलान्यास

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित जनता आधारभूत प्राथमिक विद्यालय, धनगडहवामा जापानी सहयोगमा सुविधासम्पन्न विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

बालमैत्री तथा समावेशी शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले चाइल्ड फण्ड जापानको आर्थिक सहयोग र इन्द्रेणी सामाजिक विकास मञ्चको सहकार्यमा भवन निर्माण सुरु गरिएको हो ।

निर्माण हुने ६ कोठे आरसीसी भवनसहित ६ वटा शौचालय र ४ वटा खानेपानी स्टेशन निर्माण गरिने परियोजनाको लागत भ्याट बाहेक २ करोड ६८ लाख २७ हजार रुपैयाँ रहेको छ । निर्माण कार्य आगामी पुस २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य विक्रम खनालले आधुनिक शैक्षिक पूर्वाधारले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव र सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले ग्रामीण क्षेत्रमा यस्ता साझेदारी कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

चाइल्ड फण्ड जापानका कन्ट्री डाइरेक्टर आङ पासाङ शेर्पाले ग्रामीण विद्यालयमा भौतिक पूर्वाधार, सरसफाइ र स्वास्थ्य क्षेत्रमा संस्थाले काम गर्दै आएको जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत नवलपरासीका १२ विद्यालयमा बालमैत्री तथा समावेशी शैक्षिक वातावरण निर्माणका लागि विभिन्न पूर्वाधार सुधारका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । नयाँ भवनले विद्यालयको शैक्षिक वातावरण सुधार हुने, विद्यार्थीको उपस्थिति बढ्ने र गुणस्तरीय शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button