तपाईँ सुन्दै हुनुहुन्छः

तेक्वान्दो संघ गण्डकीको अध्यक्षमा गुरुङ पुनः निर्वाचित

पोखरा । गण्डकी प्रदेश तेक्वान्दो सङ्घको अध्यक्षमा जगनबहादुर गुरुङ पुनः निर्वाचित हुनुभएको छ । पोखरामा आज (आइतबार) सम्पन्न भएको सङ्घको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गङ्गाबहादुर गुरुङ चयन हुनुभएको छ । त्यसै गरी सङ्घको सदस्यहरूमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्माचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित हुनु भएको हो । 

निर्वाचन समितिले तोकिएको सङ्ख्यामा मात्र उम्मेदवारी दर्ता भएको र विधान बमोजिम निर्वाचन गर्नुपर्ने पदमा आवश्यक सङ्ख्यामा मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित घोषणा गरिएको सङ्घले जनाएको छ । संघका उपाध्यक्ष रमेश पौडेलका अनुसार थप उपाध्यक्ष र महासचिव अध्यक्षले पछि चयन गर्नुहुनेछ । नवनिर्वाचित अध्यक्ष गुरुङले तेक्वान्दो खेलको विकास र विस्तारका लागि अझ सक्रिय भएर लाग्ने बताउनुभयो ।

यसअघि अधिवेशनको उद्घाटन नेपाल तेक्वान्दो संघका सल्लाहकार प्रकाशशम्शेर राणाले गर्नुभएको थियो । अधिवेशनमा संघका महासचिव रमेश पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष माइकल कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तेक्वान्दो संघका सल्लाहकार राणा, अर्का सल्लाहकार हरिश्वर पोख्रेल, केन्द्रीय सदस्य मदन केसी लगायतले तेक्वान्दो खेलको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा तेक्वान्दो सङ्घलाई पुर्‍याउनु भएको योगदानस्वरुप होटल व्यवसायी कुलबहादुर तामाङ (दोर्जे)लाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button