तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा ६० लाखको क्षति

भद्रपुर, झापा । झापाको अर्जुनधारा नगरपालिका, वडा नं. ११ बिर्तामोडमा सञ्चालित एक कपास प्रशोधन उद्योगमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

स्थानीय नूर मोहम्मदले सञ्चालन गरेको विर्तामोड कपास प्रशोधन उद्योग (सिरक गोदाम) मा आज आगलागी भएको थियो । दिउँसो करिब १२ः०० बजेबाट सुरु भएको आगो नियन्त्रणमा लिन साढे दुई घण्टा लागेको थियो । आगलागी लगत्तै जनपद प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पुगेको थियो । आगो निभाउनका लागि झापाको बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र  शिवसताक्षी नगरपालिका तथा  कमल गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो । सुरक्षा निकाय, दमकल र स्थानीय बासिन्दाको प्रयासपछि आगो थप फैलिन नपाई नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

क्षतिको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट टिनको बेरा र छानो भएको गोदाम घर, भित्र रहेका कपास बनाउने मेसिनहरू र कच्चा पदार्थ (रुवा) पूर्ण रूपमा नष्ट भएको छ ।

बिर्तामोड–५ निवासी सलमा खातुनले जग्गा भाडामा लिएर उक्त उद्योग सञ्चालन गरिरहेको बताइएको छ । आगलागीको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button