तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मतपेटिका सङ्कलन गरिँदै

नेपालगन्ज । बाँकेमा शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको छ । जिल्लामा करिब ६३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिनुभयो । 

शाहीका अनुसार अहिले मतपेटिका सङ्कलन कार्य भइरहेको छ । राती ८ बजेसम्म मतपेटिका सङ्कलन गरिसकिने उहाँको भनाई छ । त्यस पश्चात् सर्वदलीय बैठक बसेर मतगणनाको तयारी हुने शाहीले बताउनुभयो । आजै मतगणनाको तयारी छ ।

बाँकेका ३ वटा निर्वाचन क्षेत्रका ८१ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चलेको थियो । मतदानका लागि जिल्लाभर २ हजार ४ सय जना कर्मचारी खटिएका छन् ।

यस्तै ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, निर्वाचन प्रहरी लगायत सुरक्षा अङ्ग परिचालन भएर सुरक्षा दिइरहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट गरेर ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता हुन् । जिल्लाका ८१ वटा वडासँगै कारागारहरूमा पनि मतदान केन्द्र राखिएको थियो । यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको थियो ।

नेपालगन्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको थियो ।

जिल्लाका १ सय ३९ मतदान स्थलमा ४ सय वटा मतदान केन्द्र राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button