बाँकेमा ६३ प्रतिशत मत खस्यो

नेपालगन्ज । बाँकेमा शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको छ । जिल्लामा करिब ६३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीले जानकारी दिनुभयो ।
बाँकेका ३ वटा निर्वाचन क्षेत्रका ८१ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार मतदान बेलुका ५ बजेसम्म चलेको थियो । मतदानका लागि जिल्लाभर २ हजार ४ सय जना कर्मचारी खटिएका छन् ।
यस्तै ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, निर्वाचन प्रहरी लगायत सुरक्षाअङ्ग परिचालन भएर सुरक्षा दिइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट गरेर ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता छन् । जिल्लाका ८१ वटा वडासँगै कारागारहरूमा पनि मतदान केन्द्र राखिएको थियो । यसका साथै ३ वटा अस्थायी मतदान केन्द्र राखिएको थियो ।
नेपालगन्ज कारागार, नौबस्ता कारागार र पशु सेवा कार्यालय परिसरमा पनि अस्थायी मतदान केन्द्र राखिएको थियो ।
जिल्लाका १ सय ३९ मतदान स्थलमा ४ सय वटा मतदान केन्द्र राखिएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख शाहीले यस पटक सबै मतदान केन्द्रहरू अशक्त, अपाङ्गतामैत्री र ज्येष्ठ नागरिकमैत्री बनाइएको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्