तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ८०६ मतदान तथा सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु

नेपालगञ्ज । बाँकेमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई आजदेखि नेपालगञ्जमा तालिम दिन सुरु गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेक बहादुर शाहीले बताउनुभयो । 

निर्वाचन प्रक्रियामा प्रत्यक्ष रुपमा संलग्न हुने कर्मचारीहरूलाई समयमै आवश्यक ज्ञान र सीप प्रदान गर्न तालिम आयोजना गरिएको हो । फागुन १४ गतेसम्म विभिन्न चरणमा तालिम सञ्चालन हुने शाहीले जानकारी दिनुभयो । तालिममा निर्वाचन कानुन, मतदान प्रक्रिया, मतपत्र र निर्वाचन सामग्रीको प्रयोग, मतपेटिका व्यवस्थापन मतदाता पहिचान प्रक्रिया, मतदाताको अभिलेखीकरण तथा मतगणना पूर्वको तयारीबारे विस्तृत जानकारी प्रदान गरिनेछ । निर्वाचन कार्यलाई प्रभावकारी, पारदर्शी र विवादरहित बनाउन तालिमले भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ४०० मतदान केन्द्र छन् । तालिममा ४०० मतदान केन्द्रमा खटिने प्रत्येक मतदान केन्द्रका एक(एक जना मतदान र सहायक मतदान अधिकृत गरी ८०० जना तथा अस्थायी तीन मतदान केन्द्रका ६ जना गरी जम्मा ८०६ जना सहभागी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button