‘निर्वाचन आचारसंहिता पालनामा सञ्चार माध्यम संवेदनशील हुनुपर्दछ’
नेपालगञ्ज । निर्वाचनलाई स्वतन्त्र र पारदर्शी बनाउन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्ने बताइएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयको आयोजनामा आज नेपालगञ्जमा आयोजित “निर्वाचन आचारसंहितामा सञ्चार” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता महत्वपूर्ण कडी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । “बाँकेमा अहिलेसम्म सञ्चारमाध्यम लगायत सबै तहबाट आचारसंहिता पालना सन्तोषजनक रहेको छ, आगामी दिनमा पनि थप जिम्मेवार हुने अपेक्षा गरेका छौँ”, गुरुङले भन्नुभयो, “निर्वाचन आचारसंहिता उम्मेदवारदेखि मतदातासम्मले पालना गर्नुपर्छ, सञ्चारमाध्यम अझ संवेदनशील हुन आवश्यक छ ।” सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले राससले आफ्नो वार्षिकोत्सवका अवसरमा निर्वाचन आचारसंहिताको सवालमा सञ्चारकर्मी र सरोकारवाला निकायबीच अन्तरक्रिया गरेर सराहनीय कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले निर्वाचन आचारसंहिता पालनामा सञ्चारकर्मी र सञ्चारमाध्यम जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार महासङ्घले पनि निर्वाचन आचारसंहिता पालनामा पत्रकारहरूलाई आवश्यक निर्देशन दिँदै आएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचन आचारसंहिता निर्वाचनको महत्वपूर्ण अवयव भएकाले पत्रकार र सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताउनुभयो । “कसैले गल्ती गर्दा प्रश्न उठाउने पत्रकार निर्वाचन आचारसंहितामा संवेदनशील हुनुपर्छ”,अध्यक्ष गिरीले भन्नुभयो,“मिडियालाई निर्वाचनमा उपयोग भएर समाजलाई दिग्भ्रमित बनाउने छुट छैन, कुनै दल वा स्वार्थ समूहको चङ्गुलमा पर्नु हुँदैन ।”
नेपालगञ्जका नागरिक अगुवा प्रकाश उपाध्यायले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आचारसंहिता अनिवार्य तत्त्व रहेको उल्लेख गर्दै सञ्चारमाध्यमले पनि निष्पक्ष रुपमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस नेपालगञ्ज कार्यालय प्रमुख युवराज पाण्डेले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकोले राससको स्थापना दिवसको अवसरमा निर्वाचन आचार संहितामा सञ्चार विषयक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्