तपाईँ सुन्दै हुनुहुन्छः

घर पुग्ने बाटो कि फर्किन नपाउने यात्रा !

'डोजरे विकास, मापदण्डविहीन सडक र बैतडीमा दोहोरिँदै आएको मृत्युको कथा'

बैतडी । बैतडीमा सवारी दुर्घटनाको खबर अब आकस्मिक जस्तो लाग्न छाडेको छ। यहाँ जन्ती बोकेको गाडी दुर्घटनामा पर्छ, यात्रु बोकेको जीप भीरबाट खस्छ, वा सामान्य उपचारका लागि निस्किएको यात्रा कहिल्यै नफर्किने यात्रामा परिणत हुन्छ। यस्ता समाचारहरू यति दोहोरिन थालेका छन् कि समाज क्रमशः संवेदनाहीन बन्दै गएको जस्तो देखिन्छ।

यी भइरहेका दुर्घटनालाई छुट्टाछुट्टै घटना भनेर बुझ्नु वास्तविक समस्याबाट आँखा चिम्लनु सरह भएको स्थानीयहरू बताउँछन्।

बैतडीमा भइरहेको दुर्घटनाको यो क्रम कुनै संयोग मात्र होइन। यो विकासको नाममा गरिएको गम्भीर लापरबाहीको परिणाम हो।

तीन–चार वर्षअघि पञ्चेश्वर गाउँपालिका–६ मा एक वडा सदस्यको चट्याङ लागेर मृत्यु भयो। शोकमा डुबेका गाउँलेहरू शव पोस्टमार्टमका लागि सदरमुकामतर्फ लागे। तर घरबाट हिँडेको करिब पन्ध्र मिनेटमै त्यो यात्रा अर्को भयावह त्रासदीमा परिणत भयो। सवारी दुर्घटनामा परेर एउटै गाउँका छ जनाले ज्यान गुमाए। एक जनालाई अन्तिम विदाइ दिन निस्किएको यात्रा थप छ वटा चिहानको कारण बन्यो।

त्यो घटना बैतडीका असुरक्षित सडकहरूको गम्भीर चेतावनी थियो। तर दुर्भाग्यवश, त्यो चेतावनीबाट कुनै पाठ सिकिएन।

त्यसअघि र त्यसपछि पनि जिल्लाका विभिन्न स्थानमा मापदण्डविहीन सडकका कारण दर्जनौँले ज्यान गुमाइसकेका छन्। हरेक वर्ष वर्षायाम सुरु भएसँगै दुर्घटनाका खबरहरू बढ्दै जान्छन्। केही दिनअघि मात्रै जन्ती बोकेको गाडी दुर्घटनामा पर्दा एउटै परिवारका छ जनाको ज्यान गयो। खुसी, हाँसो र सपनाहरू बोकेर निस्किएको यात्रा एकैछिनमा रुवाइ, शोक र जीवनभर नमेटिने पीडामा परिणत भयो।

प्रश्न उठ्छ—के यी सबै घटनाको दोष सधैँ भाग्यमाथि थोपर्ने ?
बैतडीको भूगोल निश्चय नै चुनौतीपूर्ण छ। भीर, पाखा, खोल्सा र भिरालो जमिनका कारण यहाँ सडक यात्रा सहज छैन। तर यही चुनौतीलाई बहाना बनाएर इन्जिनियर बिना, प्राविधिक अध्ययन बिना, माटोको प्रकृति नबुझी डोजर चलाएर सडक खन्नुलाई विकास भन्न मिल्दैन। त्यो त सुनियोजित जोखिम हो।

कतै ढलानको गणना गरिएको छैन, कतै मोडहरू अन्धाधुन्ध छन्। कतै नाली छैन, कतै साइडवाल छैन। धेरै ठाउँमा डोजरले ट्रयाक मात्रै खोलेको छ, गार्डरेल त कल्पनामै सीमित छन्। यस्ता सडक सामान्य अवस्थामा पनि असुरक्षित छन्, वर्षा लाग्नासाथ जोखिम झनै बढ्छ। घरबाट निस्कँदा मानिसहरू डर बोकेर, शंकित मन लिएर यात्रा गर्न बाध्य छन्।

झन् चिन्ताजनक कुरा के छ भने, यस्तो अवस्थालाई नै “विकास” भनेर स्वीकार्ने संस्कार बस्दै गएको छ। “मेरो पालामा बाटो पुगेको हो” भन्ने देखावटी होडबाजी राजनीतिक सफलताको मापन बनेको छ। उद्घाटन हुन्छ, रिबन काटिन्छ, फोटो सेसन हुन्छ। सामाजिक सञ्जालमा विकासको प्रचार हुन्छ। तर सडक कति सुरक्षित छ? भोलि कसको ज्यान लिन्छ कि लिँदैन? यी प्रश्न कहिल्यै प्राथमिकतामा पर्दैनन्।

दुर्घटना भएपछि दोष प्रायः सधैँ चालकलाई दिइन्छ—तीव्र गति, लापरबाही, अनुभवको कमी। यी कारण हुन सक्छन्, तर मूल प्रश्न सधैँ ओझेलमा पर्छ। सडकको डिजाइन कस्तो थियो ? कसले स्वीकृत गर्‍यो ? मापदण्ड पालना भयो कि भएन ? अनुगमन कसले गर्‍यो ? यी प्रश्न उठ्नासाथ सम्बन्धित निकायहरू मौन बस्छन्। जवाफदेहिता हराउँछ, र अर्को दुर्घटनाको बाटो खुला रहन्छ।

अब विकासको बहस “सडक चाहियो” भन्ने तहमा सीमित रहनु हुँदैन। बहस “सुरक्षित सडक चाहियो” मा रूपान्तरण हुनैपर्छ। इन्जिनियरको अनिवार्य संलग्नता, प्राविधिक अध्ययन, भू–संरचना अनुसारको डिजाइन, कडा मापदण्ड, नियमित अनुगमन र जिम्मेवार निर्णय बिना गरिने विकास दीर्घकालीन हुन सक्दैन। यस्तो विकासले सुविधा होइन, डर मात्रै दिन्छ।

विकासको मूल्य ज्यान हुन सक्दैन। बाटोले गाउँलाई बजारसँग जोड्नुपर्छ, बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ, बालबालिकालाई भविष्यतर्फ लैजानुपर्छ। तर आज बैतडीका धेरै सडकहरूले परिवार छुट्याइरहेका छन्, सपना चुँडाइरहेका छन् र समाजलाई निरन्तर शोकमा डुबाइरहेका छन्।

यदि आजै सच्याउने आँट गरिएन भने, यदि अझै पनि डोजर विकासमै रमाइरह्यौँ भने, बैतडीका सडकहरूले धेरैका लागि घर पुग्ने बाटो होइन—फर्किन नपाउने यात्रा बनाइरहनेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button