तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद लिला कुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।

सांसद भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी राष्ट्रिय सभाका सदस्य प्रेम प्रसाद दंगालले प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

यस अघि बैठकमा सांसदहरुले युद्धका कारण खाडी मुलुकमा रहेका नेपाली कामदारहरूको सुरक्षा तथा सुरक्षित स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

महिला र किशोरीमाथि हुने घरेलु हिंसा तथा साइबर आक्रमण रोक्न जरुरी नीति निर्माण, इन्धन तथा ग्यास अभावका कारण भएको महँगी नियन्त्रण र देशको आत्मनिर्भरता बढाउन विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन दिनुपर्नेमा सांसदहरूले जोड दिनुभयो ।

बैठकमा सांसदहरूले सुशासन स्थापना र आर्थिक विकास बढाउन हरेक प्रदेशमा पूर्वाधार विकास, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रणका साथै सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक चैत २५ गते बुधबार दिउसो १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button