तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल ७६औँ वर्षमा प्रवेश

दाङमा विविध कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न

दाङ । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल ले ७५ औँ वसन्त पार गरी ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रादेशिक प्रसारण कार्यालय, लुम्बिनी प्रदेश दाङले विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ।

कार्यालय प्रमुख सूर्य बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै निवर्तमान प्रमुख श्रीप्रसाद चौधरीले रेडियो नेपालको प्रादेशिक कार्यालय दाङले पछिल्लो समय आर्थिक तथा भौतिक संरचनामा उल्लेखनीय सुधार गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले प्रविधिमैत्री सेवा विस्तार र प्रसारण गुणस्तर अभिवृद्धिमा कार्यालयले महत्वपूर्ण उपलब्धि हासिल गरेको धारणा व्यक्त गर्नुभयो।

वार्षिकोत्सवको अवसरमा कर्मचारीबीच मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने उद्देश्यले घैँटा फोड तथा कुर्सी दौड प्रतियोगिता आयोजना गरिएको थियो। घैँटा फोड प्रतियोगितामा रेडियो नेपालका प्राविधिक गोपाल डिसी प्रथम हुन सफल हुनुभयो। यस्तै, कुर्सी दौड प्रतियोगितामा कपिल डाँगी प्रथम, सुशिला डिसी द्वितीय र उत्कर्ष नेपाली तृतीय स्थान हासिल गर्न सफल भएका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूलाई पुरस्कार  प्रदान गरिएको थियो।

मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत ‘हात खाली नपठाउने’ कार्यक्रममा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। यसले कर्मचारीबीच आपसी सद्भाव, सम्मान र एकता अभिवृद्धि गर्न सहयोग पुगेको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

यसै अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय दाङले नयाँ वर्ष २०८३ लाई लक्षित गरी प्रकाशन गरेको क्यालेन्डरसमेत सार्वजनिक गरिएको छ। क्यालेन्डरको विमोचन कार्यालय प्रमुख सूर्य बहादुर विष्टले गर्नुभएको थियो। उक्त क्यालेन्डरले कार्यालयको गतिविधि, लुम्बिनी प्रदेशको पर्यटकीय स्थललाई समेटेको छ ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सुरेश डाँगीले गर्नुभएको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button