एसइईको प्रश्नपत्र ‘वाट्सएप’ मार्फत बाहिर पठाएको आरोपमा शिक्षक पक्राउ
उदयपुर । एसइई परीक्षाको प्रश्नपत्र बाहिर पठाएर परीक्षाको मर्यादा भङ्ग गरेको आरोपमा उदयपुर प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार बेलका नगरपालिका–९ स्थित जनता बेलका माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसइई परीक्षाको अनिवार्य गणित विषयको परीक्षा निरीक्षणका क्रममा शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बेलका नगरपालिका–४ बस्दै आएका जनता नमुना माध्यमिक विद्यालय, बेलका गुरुङचौरीका ४० वर्षीय गणित शिक्षक सञ्जीव यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले मोबाइल प्रयोग गरी परीक्षाको प्रश्नपत्रको फोटो खिचेर वाट्सएपमार्फत बाहिर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही आधारमा प्रश्नपत्रको उत्तर तयार गरी पठाउन लगाएको समेत आशङ्का गरिएको छ।
घटनामा प्रयोग गरिएको मोबाइल फोन समेत बरामद गरिएको छ। पक्राउ परेका शिक्षकविरुद्ध शिक्षा ऐन अन्तर्गत परीक्षाको मर्यादा भङ्ग सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, उदयपुरका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु बहादुर खड्काले जानकारी दिनुभयो ।
यस घटनाले एसइई परीक्षा सञ्चालनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेको छ।








प्रतिक्रिया राख्नुहोस्