प्रतिनिधिसभा बैठक विशेष समय: जनताका समस्यादेखि डिजिटल नेपाल प्रोजेक्टसम्मको बहस

काठमाडौँ I प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले नवनिर्वाचित सभामुखलाई बधाई दिनुका साथै मुलुकका समसामयिक विषयमा छलफल भएको छ ।
बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कबिन्द्र बुर्लाकोटीले जनताले दिएर पठाएको मतको सम्मान गर्दै आफूले संसदमा रहँदा जनताका समस्या र पिडा बुझेर काम गर्ने बताउनुभयो ।
उहाँले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सदनमा रहेर सरकार सदन र देशको समग्र व्यवस्था लाई समुन्नत बनाउन अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमालेका सांसद ऐन बहादुर महरले सरकारको विद्यार्थी सङ्गठनहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक देखिएको भन्दै विद्यार्थीका हक हितमा काम गर्ने विद्यार्थी सङ्गठनहरूलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले संसद्लाई बहुमतका आधारमा पेल्ने थलोका रुपमा नहेरी संसद् बहुमतको मात्रै होइन सत्यको आवाज सुन्ने, त्यसलाई कार्यान्वयन गर्ने र जनताका काम गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले जेनजी आन्दोलन व्यवस्थाको विरुद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भन्दै त्यसअनुसारको व्यवहार हुनुपर्ने बताउनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जनताको भावना समेट्नका लागि संसदमा आएको भन्दै एकलौटी सरकार रहेकाले विपक्षी दल र जनताहरूको सरकारसँग धेरै आशा गरेका रहेको बताउनुभयो ।
उहाँले बजेट विनियोजन गर्ने समय आएकाले नियोजित ढङ्गबाट सबैलाई समेट्ने गरी बजेट विनियोजन गर्न माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुष्बु ओलीले विगतमा सभामुखहरूमा देखिएका सत्तापक्ष झुकावको प्रवृत्तिबाट अलग रहेर नयाँ मापदण्ड स्थापित गरी सत्ता र प्रतिपक्ष बीच सन्तुलित व्यवहार, संवैधानिक व्यवस्थाको संरक्षण तथा संसदीय प्रक्रियाको निष्पक्ष सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले एशियाली विकास बैक र विश्व बैकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टमा लागि लिएको सहुलियत ऋणको विषयमा स्पष्ट पार्नुपर्ने भन्दै मध्यपूर्वमा देखिएको सङ्कटले नेपालमा परेको विभिन्न असरहरूप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रास्वपाका सांसद मनिष झाले संसदमा रहेर उदारता, संस्कार र सिद्धान्त देखाउनुपर्ने जिम्मेवारी बहन गर्दै साउथ एशियाकै सफल संसद् बनाउनका लागि नवनिर्वाचित सांसदले कुशल अभिभावकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संसद् गुरुकुलजस्तो र विश्वविद्यालय जस्तो हुनुपर्ने भन्दै अब संसदमा सिद्धान्तको बहस हुने र सबैको उत्तिकै मेहनत आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्लाई स्वतन्त्र र सुदृढ बनाउन सकेमात्रै लोकतन्त्र जीवन्त हुने भएकाले त्यसमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले सभामुखलाई आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न आग्रह गर्दै संसदले जनताको आकाङ्क्षालाई संवोधन गर्न सक्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेकी सांसद विष्णुमाया विकले आफ्ना विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसामा पर्ने गरेको भन्दै यस्तो कार्य नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पाटीका सांसदहरु गणेश पराजुली, डा. राम लामा, निशा डाँगी, खगेन्द्र सुनार लगायतले सांसदहरुले नेपाली नागरिकले देखेका सपना पुरा गर्नेगरी आफूहरूले काम गर्ने र जनताको मतको सम्मान गर्दै अगाडी बढ्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्