सार्वजनिक सेवा प्रसारणमा रूपान्तरणपछि रेडियो नेपालको नयाँ यात्रा-विष्णुराम न्यौपाने
काठमाडौं । रेडियो नेपाल आज ७५ वर्ष पूरा गरी ७६औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा संस्थाले आफ्नो उपलब्धि, चुनौती र आगामी योजनासमेत सार्वजनिक गरेको छ।
वि.सं. २००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपालले “राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार” भन्ने मूल भावनासहित लामो यात्रा तय गरेको छ। हाल सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत सञ्चालनमा रहेको रेडियो नेपालले नागरिक केन्द्रित प्रसारणलाई प्राथमिकतामा राख्दै राष्ट्रिय एकता, समृद्धि र विपद् व्यवस्थापनलाई मुख्य मार्गनिर्देशक बनाएको जनाएको छ।
यसैबीच कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले संस्थालाई यो अवस्थासम्म पुर्याउन सहयोग गर्ने श्रोता, सरकार, मन्त्रालय, निजी क्षेत्र तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएकाे छ। उहाँले ७६ औं वार्षिक उत्सवको अवशरमा प्रतिवेदन तथा शुभकामना व्यक्त गर्नुहुँदै सार्वजनिक सेवा प्रसारणमा रूपान्तरणपछि रेडियो नेपालको नयाँ यात्रा सुरु भएको उल्लेख गर्नुभएको छ ।
बहुभाषिक प्रसारण र सामग्री विस्तार
रेडियो नेपालले हाल २६ भाषामा समाचार र २५ भाषामा कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेको जनाएको छ। देशका विभिन्न जिल्लामा स्थलगत रिपोर्टिङ र “नागरिक बहस” कार्यक्रममार्फत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकता दिइएको छ।
यस अवधिमा ६ हजार ७ सयभन्दा बढी समाचार बुलेटिन र १ हजार ५ सयभन्दा बढी कार्यक्रम उत्पादन गरिएको जानकारी दिइएको छ। कला, साहित्य, भाषा, संस्कृति, बालबालिका र ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रमहरूलाई पनि निरन्तरता दिइएको छ।
डिजिटल प्रविधिमा विस्तार
प्रसारणलाई आधुनिक बनाउन रेडियो नेपालले भूसतहीसँगै डिजिटल माध्यमलाई पनि सुदृढ बनाएको छ। हाल ३ मिडियम वेभ र ३६ एफएम स्टेशनमार्फत देशभर सेवा विस्तार गरिएको छ भने अनलाइन प्लेटफर्म, सामाजिक सञ्जाल र मोबाइल एपमार्फत २४सै घण्टा सामग्री उपलब्ध गराइएको छ।
त्यसैगरी, १४ हजार ९ सयभन्दा बढी अडियो सामग्री डिजिटाइज गरिएको संस्थाले जनाएको छ। गोरखामा नयाँ एफएम स्टेशन सञ्चालनमा आएको छ भने अन्य स्थानमा प्राविधिक स्तरोन्नति कार्य जारी छ।
जनशक्ति र संस्थागत सुधार
डिजिटल गभर्नेन्सलाई आत्मसात् गर्दै संस्थाले मोबाइल एप सञ्चालनमा ल्याएको छ। कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। समावेशी प्रसारणका लागि खस र शेर्पा भाषाका जनशक्ति पनि थप गरिएको छ।
आर्थिक र व्यावसायिक पक्ष
रेडियो नेपाललाई आत्मनिर्भर बनाउन विज्ञापन, कार्यक्रम उत्पादन र साझेदारीमार्फत आय आर्जन बढाउने प्रयास जारी रहेको जनाइएको छ। सामाजिक सुरक्षा कोषमा आबद्धता र आर्थिक पारदर्शिता कायम गर्न विभिन्न सुधारका कामहरू अघि बढाइएको छ।
सांस्कृतिक संरक्षणमा योगदान
गीत–संगीतको संरक्षण र प्रवर्द्धनका लागि यस वर्ष पनि शास्त्रीय संगीत सम्मेलन आयोजना गरिएको छ। साथै, रेडियो नेपाल स्रष्टा सम्मान कार्यक्रममार्फत सर्जकहरूलाई सम्मान गर्ने परम्परा जारी राखिएको छ।
प्रतिबद्धता
रेडियो नेपालले सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय मान्यता अनुरूप नागरिक केन्द्रित, विश्वसनीय र प्रभावकारी सामग्री उत्पादन गर्दै देशव्यापी पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ७६औँ वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले विगतको उपलब्धिलाई आधार बनाएर भविष्यमा अझ सशक्त सार्वजनिक सेवा प्रसारण संस्था बन्ने लक्ष्य लिएको जनाएको छ।
प्रस्तुत छ ७६ औं वार्षिक उत्सवको अवशरमा कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेको प्रतिवेदन तथा शुभकामनाको पूर्ण पाठ:








प्रतिक्रिया राख्नुहोस्