तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक । यहाँको अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आज दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २८ वर्षीय सुशील आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडक खण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एक आपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिनुभयो । 

तामाङका अनुसार गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई अपराह्न मृत घोषणा गरेको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button