तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रामक विज्ञापनप्रति कडा निगरानी आवश्यक’

नेपालगन्ज । विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिइएको छ । विज्ञापन बोर्डले आज नेपालगन्जमा आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा भ्रामक र अनियन्त्रित विज्ञापनले उपभोक्ता र मिडियामा नकारात्मक असर पारिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सरोकारवाला गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याएको छ । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालको समन्वयमा गरिएको कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले उपभोक्ता हितलाई केन्द्रमा राखेर विज्ञापन नियमन गर्नुपर्ने भन्दै भ्रामक विज्ञापनप्रति कडा निगरानी आवश्यक रहेको बताउनुभयो । उहाँले भ्रामक तथा अनियन्त्रित विज्ञापनले उपभोक्ता र सञ्चार माध्यम दुवैलाई असर गर्ने भएकोले नियमित अनुगमन जरुरी रहेको बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले विज्ञापनले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै कानुन अनुसार मात्रै विज्ञापन प्रकाशन र प्रसारण हुनुपर्ने बताउनुभयो । उहाँले भ्रामक, अतिरञ्जित वा उपभोक्तालाई धोका दिने खालका विज्ञापन नियन्त्रणका लागि प्रशासन, विज्ञापन बोर्ड, सञ्चार माध्यम र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाले उपभोक्तामैत्री विज्ञापन प्रवर्द्धन र उपभोक्तालाई सही सूचना दिनु सबै सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो । उहाँले विज्ञापनबाट हुने ठगी, गलत प्रचार र स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रमा हुने भ्रामक प्रचारप्रति कडा निगरानी आवश्यक रहेको धारणा राख्नुभयो । 

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले विज्ञापन र समाचारबिचको स्पष्ट विभाजन, आचारसंहिता पालन र तथ्यमा आधारित सामग्री प्रकाशन प्रशारणमा पत्रकारहरू सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमले व्यावसायिक दबाब भन्दा माथि उठेर सामाजिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यसक्रममा हुमागाईँ र बानियाले प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

कार्यक्रममा विज्ञापन, कानुनी व्यवस्था, कार्यान्वयनमा देखिएका चुनौती तथा सुधारका उपायबारे सहभागीहरूबिच खुला छलफल गरिएको थियो । 

अन्तरक्रियाले विज्ञापन क्षेत्रलाई जिम्मेवार, पारदर्शी र उपभोक्तामैत्री बनाउने दिशामा सहकार्य बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । 

कार्यक्रममा बाँकेमा क्रियाशील पत्रकार, विज्ञापन एजेन्सी, उपभोक्ता अधिकारकर्मी लगायत सरोकारवालाको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button