राष्ट्रियसभामा तीन वटा अध्यादेश पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटा अध्यादेशहरू पेस गर्नुभएको छ ।
मन्त्री अर्यालले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश २०८२ पेस गर्नुभयो ।
बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ र विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक–२०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुभयो ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा सदस्यहरूको राजीनामा र एक जना सांसदको निधनबाट पद रिक्त रहेको सम्बन्धी सूचना र राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
यसैबीच राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले देशको वर्तमान अवस्था, जेनजी आन्दोलनका क्रममा पुगेको क्षति, त्यसले पारेको प्रभाव, निर्वाचन र सुशासनलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसद डा.बेदुराम भुसालले जेनजी युवाहरूको चाहना अनुसार सुशासन, आर्थिक सुधारलगायतका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।
उहाँले सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सक्छ की सक्दैन भन्ने र जनताले कस्ता प्रतिनिधि छान्ने भन्ने प्रश्न जटिल रहेको भन्दै देशलाई संविधानको बाटोमा अगाडी बढाउने प्रतिनिधि छान्ने की संविधान च्यातेर फाल्ने भन्ने, देश बनाउने र देशलाई ध्वशं गर्ने कसलाई छान्ने भन्ने चुनौती जतामा रहेको बताउनुभयो ।

सांसद कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरू सबै सांसदहरू मिलेर नीतिगत तहमा उकता नगर्ने हो भने नेपाल दिन प्रतिदिन कमजोर हुँदै जान सक्ने बताउँदै फागुन २१ गते हुने निर्वाचनले राष्ट्रिय एकता निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले अहिलेको भदौ २३ र २४ गतेको आन्दोलनपछि सरकार संसद्ले नबनाई आगोको ज्वालाकोबीचबाट राष्ट्रपतिबाट बनाइएको र यो सरकार संवैधानिक नभएको भन्दै त्यस समयको जस्तै संसद्, प्रतिनिधिसभा, सरकार, सर्वोच्च अदालत सबै निरिह बनेको अवस्थामा अब देश कहिल्यै पुग्न नहुने बताउनुभयो ।
सांसद देवेन्द्र दाहालले भदौ २४ गते एकै दिन कार्यकारी, विधायिक र न्यायिक संरचना ध्वस्त पार्ने गरी भएको घटना लोकतन्त्र समाप्त पार्ने, संविधान असफल बनाउने, राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने र क्रमशः भूराजनीतिक भुमरीमा फसाउने तथा नेपाललाई असफल राष्ट्रमा बदल्ने नियोजित षडयन्त्रको एउटा अङ्ग थियो भनेर किटानीका साथ भन्न सकिने बताउनुभयो ।
उहाँले फागुन २१ को निर्वाचनका लागि शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरण सरकारले बनाउन अझै पनि नसकेको बताउनुभयो ।

सांसद मोहम्मद खालिदले प्रतिनिधिसभा नभएको अवस्थामा यस सभाले धेरै विधायकी काम गर्न नसक्ने भए पनि सरकारलाई सल्लाह सुझाव दिएर जिम्मेवार बनाउने, जनताका आवाज उठाउने र जनअपेक्षा सरकारसम्म पुर्याउने महत्त्वपूर्ण काम गर्न सक्ने बताउनुभयो ।
यस्तै, राष्ट्रियसभाले पूर्व मन्त्री एवं प्रतिनिधिसभाका पूर्व सदस्य ऋषिकेश गौतम, पूर्व मन्त्री, संविधानसभा सदस्यता एवं प्रतिनिधिसभाका पूर्व सदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्व सदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्व मन्त्री, प्रतिनिधिसभा एवं राष्ट्रियसभाका पूर्व सदस्य आमोदप्रसाद उपाध्याय र पूर्व मन्त्री एवं प्रतिनिधिसभाका पूर्व सदस्य होमनाथ दाहालको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक माघ १३ गते मङ्गलवार १ बजेर १५ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्