कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन माग गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता देवराज चालिसेले कार्यतालिका प्रभावित भइसकेको नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताउनुभयो ।
नेता चालिसेले पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्ने आफूहरूलाई विश्वास रहेको बताउनुभयो । उहाँले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ ।
जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उहाँहरूले विशेष महाधिवेशनको माग गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्