तपाईँ सुन्दै हुनुहुन्छः

किशोरकिशोरीहरुलाई हिंसा र दुर्व्यसनबाट बचाउन आत्मरक्षा तालिम शुरु

अछाम । अछाममा किशोरकिशोरीहरुलाई हिंसा र दुर्व्यसनबाट बचाउन विद्यालयमा आत्मरक्षा तालिम सुरु भएको छ । गंगा माध्यमिक विद्यालय तेसिंगेमा किशोरीहरूका लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको हो । 

किशोरीहरूलाई आत्मरक्षा गर्नका लागि सहयोग पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । सामाजिक विकास कार्यालय अछामको आयोजनामा तालिम सञ्चालन गरिएको हो । 

किशोरीहरूलाई आत्मरक्षाका लागि प्रशिक्षित गर्ने, घरेलु हिंसा, लैङ्गिक हिंसाबाट बच्न सीप सिकाउने तथा हिंसामा परेका अरू महिलाका लागि पनि सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले बताउनुभयो । 

कार्यालयले जिल्लाका १० वटै पालिकाका विभिन्न विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै प्रमुख रावलले तालिमले किशोरीहरूमा आत्मरक्षाका लागि आत्मविश्वास बढाउने बताउनुभयो । 

सामाजिक विकास कार्यालयले किशोरी आत्मरक्षाका साथै लागूपदार्थ दुर्व्यसन विरुद्ध पनि विभिन्न विद्यालयका विद्यार्थीलाई सुसूचित गराइरहेको बताउनुभयो । लागूपदार्थले किशोरकिशोरीलाई ठुलो क्षति गर्ने भएकोले यसबाट समयमै सचेत हुन सामाजिक कार्यालय प्रमुख रावलले आग्रह गर्नुभयो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै गंगा मावि मङ्गलसेन ६ तेसिंगेका प्रधानाध्यापक मोतीराम भण्डारीले तालिमका लागि आफ्नो विद्यालय छनौट गर्नुभएकोमा धन्यवाद दिँदै तालिमले किशोरीहरूलाई आत्मरक्षाका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रधानाध्यापक भण्डारीले विद्यालयले हाल गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको र कक्षा ११ समेत सञ्चालन गरिरहेको तर विद्यालय भवनको समस्या रहेकोले सामाजिक विकास कार्यालयलाई भवनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 

तालिममा विद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत ५० जना किशोरीलाई प्रशिक्षक हिक्मत भुल र बहादुरसिंह (बि.एस) ओडले प्रशिक्षण दिइरहनुभएको छ । 

सामाजिक विकास कार्यालयका वरिष्ठ शिक्षा सहायक राजु साहले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button