अत्यधिक चिसोपछि कैलालीमा दाउरा वितरण अभियान
धनगढी। कैलालीमा अत्यधिक चिसो बढेपछि सार्वजनिक स्थलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार धनगढी लगायतका विभिन्न ठाउँमा आगो ताप्ने प्रबन्ध मिलाइएको छ । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएपछि स्थानीय तह, सुरक्षाकर्मी र वन कार्यालयको सहकार्यमा जिल्लाका विभिन्न ठाउँमा दाउरा वितरण गरिएको छ । सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था गरिएपछि स्थानीयले राहतको महसुस गरेका छन् ।

घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले चिसो छल्न नगर क्षेत्रका विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको बताउनु भयो । उहाँले सरोकारवाला निकायको समन्वयमा दाउरा वितरण गरिएको बताउनु भयो । यस्तै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रको सार्वजनिक चौकमा दाउरा वितरण गरेर आगो बालिएको जनाएको छ ।
कैलालीमा पछिल्ला दिनमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसो बढेपछि बजारमा चहलपहल घटेको देखिन्छ भने सेती प्रादेशिक अस्पताल सहित स्वास्थ्य केन्द्रमा चिसोजन्य बिरामीको चाप बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्