झण्डै ५ करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

नेपालगञ्ज । बाँकेमा झण्डै ५ करोड रुपैयाँ बराबरको हुन्डी कारोबारमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाई बालुवाटारबाट प्राप्त विवरण अनुसार बैङ्क तथा वित्तीय संस्थामार्फत ठूलो मात्रामा शङ्कास्पद कारोबार भएको सूचनापछि बाँके प्रहरीबाट अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा बाँकेको डुडुवा गाउँपालिका–६ निवासी ४० वर्षीय ईरफान अहमद शेखको खाताबाट ४ करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शङ्कास्पद कारोबार भएको खुलेको हो । नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतीय माध्यममार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूमा रकमान्तर हुने गरेको, सो कारोबारमा निज स्वयं ‘कन्डक्टर’ को रूपमा संलग्न रहेको तथा केवाइसी विवरणमा उल्लेखित अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच मेल नखाएको पाइएको प्रहरीले जनाएको छ ।
उक्त आधारमा गत साउन ७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार प्राप्त भई शेखविरुद्ध हुन्डी सम्बन्धि मुद्दा दर्ता गरिएको थियो । बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका प्रतिवादीमाथि हुन्डी सम्बन्धि मुद्दामा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्