मन्त्री घिसिङद्वारा सय दिनको उपलब्धि सार्वजनिक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्ति विरुद्ध निर्मम कदम चालेर अगाडी बढिरहेको बताउनुभएको छ ।
मन्त्री घिसिङले तीन वटा मन्त्रालयबाट एक सय दिनको अवधिमा भएका एक सय एक कामको सूची सार्वजनिक गर्दै ढिलासुस्ती र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिसँग कुनै सम्झौता नगर्ने बताउनुभयो ।
मन्त्री घिसिङले आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथमिकता दिएको दाबी गर्दै मन्त्रालयमा बसेर नभई फिल्डमै गएर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवादको शैली अपनाएको बताउनुभयो ।
उहाँले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरेको बताउँदै काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का तोडेर मात्र नछोडिने र नयाँ प्रक्रियामार्फत आयोजनालाई गति दिने स्पष्ट पार्नुभयो ।
मन्त्री घिसिङले रणनीतिक महत्वको १२०० मेगावाटको बुढीगण्डकी र १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने गरी वित्तीय ढाँचा तयार पारेर सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको जानकारी दिनुभयो ।
मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल उठाउने विषयमा रहेको राजनीतिक हस्तक्षेप र अन्योल आफ्नो कार्यकालमा अन्त्य गरेको दाबी गर्दै स्पष्ट निर्देशनपछि उद्योगीहरूले बक्यौता बुझाउन सुरु गरेको बताउनुभयो ।
मन्त्री घिसिङले प्रस्तुत गर्नुभएको एक सय दिनको उपलब्धिमा विपद् व्यवस्थापनमा कागजमा मात्र नभई मैदानमै उत्रिएर बिपी राजमार्ग र तातोपानी नाका खुलाउने जस्ता कार्य गरेको, मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन, बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको र अपर अरुण जलविद्युत् आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको उपलब्धिको सूचीमा राखिएको छ ।
यसैगरी भारत र बङ्गलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात भएको, भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता भएको सूचीमा उल्लेख छ ।
त्यस्तै ४० रुग्ण ठेक्का तोडिएको, अन्य तोड्ने प्रक्रियामा रहेको र बिपी राजमार्गको पुनर्निर्माणको काम निरन्तरता दिइएको देशको सम्पूर्ण यातायात प्रणालीलाई दिगो, सुरक्षित र समावेशी, हरित र प्रविधिमैत्री दिशातर्फ रूपान्तरण गर्न राष्ट्रिय यातायात नीति तयार पारिएको उपलब्धिको सूचिमा मा उल्लेख छ ।
मन्त्रालय मातहतका निकायमा कर्मचारी सरुवाका लागि मापदण्ड तयार गरी लागु गरिएको, विद्युत् प्रणालीलाई आधुनिक स्वचालित र स्मार्टमा रूपान्तरण गर्न दीर्घकालीन रणनीतिसहित अगाडी बढेको, क्षतिग्रस्त कार्यालयहरू मर्मत सम्भार गरी तथा अन्य स्थानमा व्यवस्थापन गरी सेवा प्रवाह सुचारु गरिएको विषयलाई उपलब्धिको सूचीमा उल्लेख गरिएको छ ।
बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा पटक पटक भएको अवरोध वार्ताद्वारा सहमति गरी समाधान गरिएको मन्त्री घिसिङले सार्वजनिक गरेको एक सय दिनको उपलब्धिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्