चितवनका व्यवसायी र मन्त्री घिसिङबिच छलफल
चितवन । उद्योग वाणिज्य संघ चितवन र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्री कुलमान घिसिङबिच समसामयिक विषयमा छलफल भएको छ ।

चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा चितवनको विकासका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूले तथा आम जनसमुदायले आफ्ना समस्या मन्त्री घिसिङसामु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा घिसिङले तिनै तहको सरकार र निजी क्षेत्रको सहकार्यमा चितवन जिल्लालाई आधुनिक सहरको रूपमा विकास गर्नुपर्ने बताउँदै आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले देवघाट क्षेत्र विकास तथा शक्तिखोर औद्योगिक क्षेत्रको निर्माणमा लाग्ने बताउनुभयो । उहाँले चितवनमा विद्युत् विकासको काम भइरहेको र त्यसलाई गुणस्तरीय बनाउने बताउँदै उद्योगहरूलाई आवश्यक डेडिकेटेड लाइनको लागि औद्योगिक क्षेत्रको आवश्यक पर्ने बताउनुभयो ।
उद्योगी व्यवसायीहरू एवम् आम जनसमुदायले पार्किङ व्यवस्थापन, नदी कटान क्षेत्रको तटबन्धन, व्यवस्थित ढल निकास, रिसाइकलिङ उद्योगहरूले भोग्नुपरेका समस्या, विद्युत् महसुल एवम् जरिवाना शुल्क घटाउनुपर्ने लगायत समग्र चितवनको विकाससँग सम्बन्धित मागहरू राखेका थिए ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले सरकारले देवघाट क्षेत्र नारायणी नदी किनार हुँदै वाल्मीकि आश्रमसम्मलाई गुरुयोजना बनाएर धार्मिक पर्यटनको विकास एवम् प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उनले चितवनमा औद्योगिक क्षेत्र स्थापना नभएका कारण उद्योगीहरू पलायन भएको बताउँदै शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । उहाँले मेला महोत्सवको नाममा स्थानीय एवम् औद्योगिक उत्पादनको प्रवद्र्धन, पर्यटन प्रवर्द्धनभन्दा अन्य क्रियाकलापहरू भइरहेकोले त्यस्तो हुन नदिन समेत मन्त्री घिसिङसँग ध्यानाकर्षण गराएका थिए ।
सोही कार्यक्रमको अवसरमा संघका अध्यक्ष श्रेष्ठले नारायणी नदी किनारको वृहत् गुरुयोजना सहितको प्रस्तावना हस्तान्तरण गर्दै रकम विनियोजनका लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजु श्रेष्ठ, संघका पदाधिकारी, कार्यसमिति, विभिन्न वस्तुगत सङ्घको अध्यक्ष एवम् प्रतिनिधि तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्