वरिष्ठ भजन गायक रत्नमान श्रेष्ठको निधन
काठमाडौं । नेपाली आधुनिक सङ्गीत जगतमा नारायणगोपालका समकालीनका रूपमा परिचित प्रख्यात सङ्गीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। पुस ३ गते राति १० बजे (विहीबार) उहाँको निधन भएको जानकारी उहाँका छोरा राजेश्वरमान श्रेष्ठले दिनुभएको हो।
वि.सं. १९९१ जेठ २३ गते काठमाडौंमा जन्मनुभएका श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाका सुपुत्र हुनुहुन्थ्यो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्नुभएका श्रेष्ठ नेपाली आधुनिक, भजन तथा नेपाल भाषाका गीत–सङ्गीत क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित रहनुभयो। उहाँ नारायणगोपालका पारिवारिक मित्रसमेत हुनुहुन्थ्यो।
श्रेष्ठले रेडियो नेपालमा वि.सं. २०१७ सालदेखि औपचारिक रूपमा भजन तथा सङ्गीत सिर्जनाको यात्रा सुरु गर्नुभएको थियो। उहाँका रेडियो नेपालमा मात्र करिब ३५० वटा भजन रेकर्ड छन्। यसका अतिरिक्त उहाँले केही राष्ट्रिय गीत तथा लोकगीतहरूमा पनि सङ्गीत तथा गायन गर्नुभएको छ।
वरिष्ठ सङ्गीतकार श्रेष्ठले नातिकाजीदेखि योगेश वैद्यसम्म तथा तारादेवीदेखि कमला श्रेष्ठसम्मका चर्चित कलाकारहरूसँग सक्रिय रूपमा सहकार्य गर्नुभएको थियो। नेपाली आधुनिक सङ्गीतको विकास र विस्तारमा उहाँको योगदान उल्लेखनीय रहेको सङ्गीतकर्मीहरूको भनाइ छ।
सङ्गीत क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप रेडियो नेपालले उहाँलाई उत्कृष्ट सङ्गीतकारको रूपमा सम्मानसमेत गरेको थियो। नेपाली सङ्गीतलाई शुद्धता, भाव र अनुशासनका साथ प्रस्तुत गर्ने उहाँको शैली आज पनि प्रेरणाको स्रोत बनेको छ।
स्वर्गीय श्रेष्ठका परिवारमा दुई छोरा र एक छोरी रहनुभएको छ। उहाँको निधनले नेपाली आधुनिक तथा भजन सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकर्मी, शुभेच्छुक तथा प्रशंसकहरूले बताएका छन्।
स्वर्गीय सङ्गीतकार रत्नमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्