‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ : मन्त्री पुन

कीर्तिपुर (काठमाडौँ) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताउनुभएको छ ।
मन्त्रीको कार्यभार सम्हाले लगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा गर्नुभएका मन्त्री पुनले आज यहाँ निरीक्षणपछि प्राकृतिक स्वरूपमै पार्क निर्माणमा जोड दिनुभएको हो ।
“उद्यानलाई अहिले जस्तो झाडीले ढाक्न दिइने छैन र कृत्रिमता नझल्किने गरी सुन्दर बनाइने छ”, उहाँले भन्नुभयो“विगतमा चितुवा लुक्ने झाडी रहेको उद्यानलाई राम्रोसँग हिँड्डुल्न गर्न मिल्ने स्थान बनाइने छ ।”
मन्त्री पुनले उद्यानको पुनर्जीवनले उच्च शिक्षाको केन्द्रीय थलोका रूपमा रहेको त्रिवि परिसर शृङ्गार गरे जत्तिकै हुने भन्दै यसका लागि सरकारले आर्थिक स्रोत खोजिरहेको जानकारी दिनुभयो । त्रिविलाई भौतिक रूपमा मात्र नभई शैक्षिक रूपमा समेत सुन्दर बनाउने आफ्नो सपना रहेको भन्दै उहाँले त्यसका लागि त्रिविलाई राजनीतिमुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
विगत ४५ दिनदेखि हालसम्म करिब चार हजार जनाले स्वयंसेवकका रूपमा उद्यानको झाडी फाँड्ने र सरसफाइको काममा जुटेका त्यस अवसरमा जानकारी दिइयो । सरसफाइमा हरेक दिन २० देखि ३० जना र शनिवार ४०० जना सम्म सहभागी हुने गरेका छन् ।
विभिन्न संस्थाले स्वतःस्फूर्त रूमा सरसफाइ गर्न आवश्यक औजार, खाजा खर्चसमेत गरी झन्डै रु पाँच लाख बराबरको सहयोग गरिसकेका र हाल झाडी फाँड्ने काम ९० प्रतिशत सकिएको मन्त्री पुनलाई जानकारी गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्