आधारभूत डिजिटल र एआईसम्बन्धी तालिम सम्पन्न
काठमाडौँ । डिजिटल जागरूकता बढाउन र दूरसञ्चार तथा अनलाइन सेवा प्रणालीलाई मजबुत बनाउने उद्देश्यले काठमाडौँमा मङ्सिर १० र ११ गते आधारभूत डिजिटल र एआईसम्बन्धी तालिम सम्पन्न भएको छ ।

युनेस्को, कोरियाको शिक्षा मन्त्रालय र कोरिया नेशनल ओपन युनिभर्सिटीसँगको साझेदारीमा नेपाल खुला विश्वविद्यालयले बानेश्वरमा आयोजना गरेको तालिममा ३४ जना विद्यार्थीहरूलाई डिजिटलको बढ्दो क्रम र कृत्रिम बुद्धिमत्ता एआईसम्बन्धी सीपहरू प्रदान गरिएको कार्यक्रमका सम्पर्क व्यक्ति डा सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा नेपाल खुला विश्वविद्यालयका संकायका प्राध्यापक सत्य बहादुर महर्जनले तालिमले विद्यार्थीहरूको डिजिटल जागरूकता बढाउने र दूरसञ्चार तथा अनलाइन सेवा प्रणाली मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै विश्वविद्यालयका संकायका प्राध्यापक सत्य राम सुवालले डिजिटल नेपाल बनाउने अभियानमा यस तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै तालिममा सिकेका सीपहरूलाई समाजमा पुर्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा अनुसन्धानकर्ता भोज राज घिमिरेले एसियाका खुला विश्वविद्यालयहरूबिच एआई मूल्याङ्कन सम्बन्धि संयुक्त अनुसन्धान आवश्यक रहेको र शिक्षा क्षेत्रमा एआईको जोखिमबाट सचेत रहँदै शिक्षकले यसको नैतिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका सहभागीहरूले विद्यालय तहदेखि नै डिजिटल र एआईको आधारभूत ज्ञान तथा नैतिक प्रयोगबारे जानकारी दिन आवश्यक भएको कुरा आफूहरूले तालिमबाट थाहा पाएको बताए ।
तालिममा नेपाल खुला विश्व विश्वविद्यालयबाट कानून, आइटी, व्यवस्थापन, स्वास्थ्य विज्ञान र शिक्षा लगायतका विभिन्न संकायका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्