प्रदेश प्रमुखबाट नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरको उद्घाटन
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरको आज उद्घाटन गर्नुभएको छ ।

श्रीमध्यपूर्वी पृतना बर्दिबास अन्तर्गतका युनिटहरूको संयोजनमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख कर्णले यस्ता प्रकारको शिविरको आयोजना नेपाली सेनाबाट हुनु निक्कै सकारात्मक भएको बताउनुभयो ।
नेपाली सेनाले गर्दै आएको सकारात्मक कामको विषयमा आम जनतालाई जानकारी गराउन पनि शिविर महत्वपूर्ण भएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख कर्णले शिविरले मेलामा आउने तीर्थयात्रीहरूले प्रत्यक्ष रुपमा लाभ पाउने भएकाले कामको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मध्य पूर्वी पृतना बर्दिबासका पृतनापति एव उपरथी कृष्णबहादुर जिसीले रामजानकी विवाह पञ्चमी मधेश प्रदेश मात्र नभइ नेपालकै ठुलो उत्सवको रुपमा रहेको यसमा नेपाली सेनाले स्वास्थ्य शिविरका साथै आफ्नै बारेमा जानकारी गराउन मद्दत पुग्ने बताउनुभयो ।

तीन दिने सो शिविरमा मधेश प्रदेश सरकारका मन्त्रीहरू लखन दास, कन्चन विच्छा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहसहित उच्च सुरक्षा अधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नागरिक समाजका अगुवाहरूको सहभागिता रहेका थियो ।
स्वास्थ्य शिविरमा स्वास्थ्य उपचारका साथै नेपाली सेनाको फोटो प्रदर्शनी, राष्ट्रिय सेवा दलका विषयमा जानकारीमूलक प्रदर्शनी, नेपाली सेनाको भर्ना र छनौटसम्बन्धी जानकारीमूलक प्रदर्शनी, सर्पदंशको उपचारसम्बन्धी प्रदर्शनी समेत राखिएको जानकारी विष्णु दल गण धनुषा महेन्द्रनगरका गणपति खिलेन्द्रराज अमगाईले गराउनुभयो ।
शिविर पर्सिसम्म चल्नेछ ।







प्रतिक्रिया राख्नुहोस्